काठमाडौं।
व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।
ग्रुपका निर्देशक कुनाल कयालले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्।
कयाल ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्, महामारीलगायत विभिन्न सामाजिक कार्यमा यसअघि पनि राहत तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।
गत बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ।
सरकारको अपिलसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्र, विभिन्न व्यावसायिक घराना, संघसंस्था तथा व्यक्तिहरूबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ।











प्रतिक्रिया