अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोगको घोषणा


काठमाडौं।

अर्घाखाँची सिमेन्ट लिमिटेडले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले एक आधिकारिक सूचना जारी गर्दै बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो ऐक्यबद्धता व्यक्त गरेको जनाएको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कम्पनीका अनुसार विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै बाढीपीडितसँगै उभिने प्रतिबद्धता व्यक्त गरिएको छ।

आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घोषणा गरिएको उक्त १ करोड ११ लाख रुपैयाँको सहयोग प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनर्स्थापनाका कार्यमा उपयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

अर्घाखाँची सिमेन्टले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।