नेपाल इलेक्ट्रिक, पावर तथा कन्ज्युमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी स्थगित


काठमाडौं।

नेपालमा आएको विनाशकारी बाढीपहिरोका कारण काठमाडौंमा आयोजना हुन लागेको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हालका लागि स्थगित गरिएको छ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा आगामी यही भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको थियो।

तर, पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरूले कठिन परिस्थितिको सामना गरिरहेको भन्दै आयोजकले प्रदर्शनी स्थगित गर्ने निर्णय गरेको हो।

प्राकृतिक विपत्तिबाट ठूलो क्षति भएको अवस्थामा व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिकोणले समेत उपयुक्त नदेखिएको आयोजकले जनाएको छ। राष्ट्रिय शोक तथा पुनर्निर्माणको संवेदनशील अवस्थामा नेपाल सरकारबाट जारी सुरक्षा सचेतना तथा भारत र चीन सरकारले आफ्ना नागरिकलाई जारी गरेको यात्रा सचेतनालाई समेत ध्यानमा राखेर प्रदर्शनी स्थगित गरिएको आयोजकको भनाइ छ।

आयोजकका अनुसार सहभागी, प्रदर्शक र आगन्तुकको सुरक्षा तथा यात्राको सहजता पहिलो प्राथमिकता भएकाले तत्कालका लागि कार्यक्रम स्थगित गरिएको हो।

देशको अवस्था सामान्य भई यातायात तथा आवश्यक पूर्वाधारहरू सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रदर्शनी स्थगित हुँदा सहभागी तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति आयोजकले क्षमा माग्दै प्राकृतिक विपत्तिको यस कठिन घडीमा सबैको सहयोग र सद्भावका लागि आभार व्यक्त गरेको छ।