काठमाडौं ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ( नाईमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
नाईमाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को सुरुवातदेखि नै नाईमाका सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्याउँदै आएको संस्थाले जनाएको छ।
नाईमाका अध्यक्ष ऋतु सिंह वैद्यलेले विपद् तथा आपतकालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको बताउनुभयो।उहाँले सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सकिने बताउँदै सहयोग र सहकार्यका लागि तत्पर सदस्य कम्पनीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।
खोज, उद्धार तथा राहत कार्यमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघ–संस्थाप्रति नाईमाले सम्मान व्यक्त गरेको छ।
संस्थाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढी प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्नसमेत आग्रह गरेको छ।











प्रतिक्रिया