रसुवा बाढीमा चीनको ठूलो सहयोग : नेपाललाई २० लाख डलर नगद, सैन्य विमानबाट राहत र सुरुङ उद्धार टोली आउने


काठमाडौं ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने भएको छ। चीनले पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत अत्यावश्यक राहत सामग्री नेपाल पठाउने तयारी गरेको छ। बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्रीसहितका विमान नेपाल पठाउने तयारी भइरहेको हो। त्यसैगरी, चीनले सुरुङ उद्धार तथा प्राविधिक कार्यमा विशेषज्ञता भएका दुईवटा उद्धार टोली नेपाल पठाउने भएको छ।

बाढीका कारण जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेका व्यक्तिको खोज तथा उद्धारमा ती टोली परिचालन गरिने जनाइएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण जलविद्युत आयोजना, बस्ती तथा महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ। विशेषगरी जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेकाहरूको उद्धार अहिले मुख्य चुनौती बनेको छ। यसअघि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय उद्धार टोली प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा परिचालित छन्।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि ड्रिलिङलगायतका प्रविधि प्रयोग भइरहेको अवस्थामा चीनबाट आउने विशेषज्ञ टोलीले उद्धार प्रयासमा थप प्राविधिक सहयोग गर्ने अपेक्षा गरिएको छ। चीनको नगद सहयोग, राहत सामग्री र विशेषज्ञ उद्धार टोलीको आगमनले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।