हिमालयन बुलियन कम्पनीद्वारा विपद् उद्धार कोषमा १ करोड १ लाख सहयोग


काठमाडौं ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले यसअघि नै २१ लाख रुपैयाँ कोषमा जम्मा गरिसकेको जनाएको छ । थप ८० लाख रुपैयाँ सहयोगसहित कम्पनीले कुल १ करोड १ लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्म प्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले बिहीबार अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी नदी तटीय क्षेत्रमा आएको बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विपद्को यस घडीमा प्रभावित परिवारको दुःखमा साथ दिनु साझा दायित्व भएको उल्लेख गर्दै कम्पनीले मानवीय सहयोग र सहकार्यलाई प्राथमिकता दिएको जनाएको छ ।

कम्पनीका अनुसार उक्त सहयोग बाढी प्रभावित नागरिकको तत्काल खोज, उद्धार तथा राहत कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ ।