नेपाल लाइफद्वारा दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग


काठमाडौं ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ ।

बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल लाइफले मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विपद्को यस कठिन समयमा प्रभावित परिवारप्रति कम्पनीले गहिरो सहानुभूति व्यक्त गरेको छ ।

नेपाल लाइफले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ । कम्पनीले प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण नागरिकलाई आग्रहसमेत गरेको छ ।