मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग


काठमाडौं ।

मुक्तिनाथ विकास बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले विपद्को यस घडीमा सहयोग गरेको जनाएको छ ।

बाढीका कारण टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

बैंकका अनुसार विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउनु आफ्नो सामाजिक उत्तरदायित्व भएकाले उक्त रकम सहयोग गरिएको हो । देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएको कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धारमा बैंकको सहयोगले योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।