बिर्तामोडमा लगानी र पुँजी बजारसम्बन्धी विशेष कार्यक्रम सम्पन्न


झापा ।

नेपाल युवा उद्यमी मञ्च (NYEF) झापा च्याप्टरको आयोजना तथा सन सेक्युरिटिज प्रालिको सहकार्यमा लगानी, पुँजी परिचालन तथा पुँजी बजारसम्बन्धी विशेष कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ।

भदौ १० गते आयोजित कार्यक्रममा ४० जनाभन्दा बढी युवा उद्यमी, व्यवसायी तथा मञ्चका सदस्यहरूको सहभागिता रहेको थियो। NYEF झापा च्याप्टरका अध्यक्ष मिजास पोखरेलको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) का अध्यक्ष कृष्ण गिरी र सबिज ग्रुपका प्रमुख कार्यकारी अधिकृत (CEO) अस्तित्व शर्माले लगानी, पुँजी परिचालन, पुँजी बजार तथा जोखिम व्यवस्थापनका विषयमा प्रस्तुति दिएका थिए।

अध्यक्ष गिरीले प्राइभेट इक्विटी, भेन्चर तथा इन्भेस्टमेन्ट कम्पनीमार्फत लगानी गर्दा व्यवसायिक सम्भावना, वित्तीय अवस्था, व्यवस्थापन, वृद्धि क्षमता तथा सम्भावित जोखिमको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए। उनले साना तथा मझौला कम्पनीले ऋण तथा स्वपुँजीमार्फत पुँजी जुटाउने उपाय, आईपीओ जारी गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया तथा संस्थापक सेयर प्लेसमेन्टको महत्वबारे जानकारी दिए।

त्यस्तै, CEO शर्माले दोस्रो बजार तथा सेयर कारोबारमा केन्द्रित प्रस्तुति दिँदै लगानी गर्नुअघि कम्पनीको वित्तीय विवरण, आम्दानी, नाफा, व्यवसायिक अवस्था, व्यवस्थापन तथा भविष्यको वृद्धि सम्भावनाजस्ता आधारभूत पक्षको अध्ययन गर्नुपर्ने बताए।

उनले प्राविधिक विश्लेषण, बजारको प्रवृत्ति तथा मूल्य गतिविधिको अध्ययनलाई लगानी निर्णयसँग जोड्ने तरिका र सम्भावित जोखिम व्यवस्थापनका विषयमा समेत जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले आईपीओ, दोस्रो बजार, कम्पनी मूल्याङ्कन, लगानी तथा जोखिम व्यवस्थापनसम्बन्धी विभिन्न प्रश्न राखेका थिए। प्रश्नोत्तर तथा अन्तरक्रिया सत्रले कार्यक्रमलाई थप व्यावहारिक र सहभागीमैत्री बनाएको आयोजकले जनाएको छ।

युवा उद्यमीमा वित्तीय ज्ञान, लगानीसम्बन्धी सचेतना तथा व्यावसायिक निर्णय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको NYEF झापा च्याप्टरले जनाएको छ।

मञ्चले आगामी दिनमा पनि युवा उद्यमी तथा व्यवसायीको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता ज्ञानमूलक तथा व्यावसायिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Skip This