आइएमई लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि एक करोड सहयोगको प्रतिबद्धता


काठमाडौं ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ।

बाढी र डुबानका कारण नागरिकले ज्यान गुमाउनुका साथै धेरै जना बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा क्षति पुगेपछि सयौँ परिवार विस्थापित हुनुपरेको कम्पनीले जनाएको छ।

प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघसंस्थाले गरिरहेको प्रयासमा ऐक्यबद्धता जनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सहयोगबाट बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनाका कार्यमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाकालदेखि नै विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ। कम्पनीले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेको स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ।

Skip This