काठमाडौं ।
कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड ३९ लाख बराबरको सहयोग गर्ने भएको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत ३ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
त्यसैगरी, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन करिब रु. ३९ लाख बराबरका पाँच वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, तीन वटा ५ किलोभोल्ट–एम्पियर (kVA) क्षमताका पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको बैंकले जनाएको छ।
हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लाहरू प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकले जनाएको छ।
कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। बैंकले उक्त सहयोगबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति दुःख व्यक्त गर्दै बैंकले सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ। साथै, बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ।













प्रतिक्रिया