काठमाडौं
नेपालको विज्ञापन उद्योगको प्रतिष्ठित सम्मानका रूपमा स्थापित ‘कृति अवार्ड्स २०८३’ को १३औँ संस्करण आयोजना हुने भएको छ। रेडबुल इनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गरेकाले यस वर्षको अवार्ड्सलाई ‘रेडबुल १३औँ कृति अवार्ड्स २०८३’ नाम दिइएको आयोजकले जनाएको छ।
विज्ञापन संघ नेपाल (आन)को आयोजनामा आगामी महिना अवार्ड समारोह आयोजना गर्न लागिएको हो। यस वर्षको आयोजनामा नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, एकोर्याब र ब्रोडकास्टर्स फोरम सह–आयोजकका रूपमा सहभागी भएका छन्।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल सरकारको विज्ञापन बोर्डले अवार्ड्सलाई समर्थन तथा सम्बन्धन प्रदान गरेका छन्।
‘कृति अवार्ड्स’ले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विज्ञापन एजेन्सी, सिर्जनाकर्ता र ब्रान्डलाई सम्मान गर्दै आएको छ। १३औँ संस्करणसम्म आइपुग्दा अवार्ड्सले नेपाली मार्केटिङ क्षेत्रमा सिर्जनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चका रूपमा पहिचान बनाएको आयोजकको भनाइ छ।
३१ विधामा ५५ अवार्ड
यस वर्ष टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियानलगायतका क्षेत्रमा गरी ३१ विधामा ५५ वटा अवार्ड प्रदान गरिनेछ।
आयोजकका अनुसार यसपटक डिजिटल, इभेन्ट्स र इन्टिग्रेटेड गरी तीन नयाँ क्षेत्र थपिएका छन्। ती क्षेत्रअन्तर्गत २४ वटा नयाँ विधा समावेश गरिएको छ।
मूल्यांकनका लागि विशेषज्ञ जुरी
अवार्ड्सको मूल्यांकन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. विजय केसीको अध्यक्षतामा जुरी गठन गरिएको छ।
जुरीमा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी, वरिष्ठ मार्केटिङ विज्ञ रविन्द्रमान श्रेष्ठसहित विभिन्न क्षेत्रका विशेषज्ञहरू सहभागी छन्। जुरीले विषयगत मूल्यांकनकर्ताको मनोनयन गरी प्राप्त सिर्जनात्मक कामको मूल्यांकनमार्फत विजेताको चयन गर्नेछ।
मनोनयन दर्ता खुला
विज्ञापन संघ नेपालका अनुसार यस वर्षको कृति अवार्ड्सका लागि मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ। इच्छुक विज्ञापन एजेन्सी तथा ब्रान्डहरूले २०८० वैशाख १ गतेदेखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्य दर्ता गराउन सक्नेछन्।
अवार्ड्स आयोजनाबारे जानकारी दिँदै विज्ञापन संघ नेपालका अध्यक्ष सुदीप थापाले यस वर्ष धेरै नयाँ विधा थप गरी सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्न लागिएको बताए।
उनले कृति अवार्ड्सले सुरुदेखि नै विज्ञापन क्षेत्रको सिर्जनात्मकता र मौलिकतालाई प्रवर्द्धन गर्दै आएको उल्लेख गर्दै नयाँ विधाको विस्तारले नेपाली विज्ञापन बजारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कृति अवार्ड्सले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन तथा विज्ञापन बजारको थप विस्तारमा समेत योगदान पुर्याउने आयोजकको अपेक्षा छ।











प्रतिक्रिया