आगन्तुक रिसोर्टको आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त


काठमाडौं ।

आगन्तुक रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

दुवै कम्पनीबीच उक्त नियुक्तिसम्बन्धी सम्झौता २०८३ भदौ ८ गते सम्पन्न भएको हो। सम्झौतामा आगन्तुक रिसोर्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आर्य शम्शेर ज.व. राणाले तथा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार आगन्तुक रिसोर्टले आफ्नो जारी पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ। प्रस्तावित आईपीओको निष्कासन तथा बिक्री प्रक्रियासँग सम्बन्धित सम्पूर्ण काम प्रचलित ऐन, नियमावली, निर्देशिका तथा नियामकीय मापदण्डको पालना गर्दै अघि बढाइने कम्पनीले जनाएको छ।

२२ वटा हिमशृङ्खला देखिने रिसोर्ट

आगन्तुक रिसोर्ट मुगल वास्तुकला शैलीमा निर्माण गरिएको कम्पनीले जनाएको छ। रिसोर्टका विभिन्न कोठा तथा निजी बाल्कोनीबाट २२ वटा हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिने यसको प्रमुख विशेषता रहेको छ।

शान्त वातावरण, आकर्षक भौगोलिक अवस्थिति, हिमाली दृश्य तथा कार्यक्रममैत्री पूर्वाधारका कारण रिसोर्ट फुर्सद, पारिवारिक बसाइ, कर्पोरेट कार्यक्रम, सम्मेलन, विवाह तथा अन्य सामाजिक समारोहका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको कम्पनीको भनाइ छ।

प्राकृतिक सौन्दर्यलाई आधुनिक आतिथ्य सेवासँग संयोजन गर्दै रिसोर्टले स्वदेशी तथा विदेशी पर्यटकलाई आवास, भोजन तथा मनोरञ्जनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।

पाँचतारे स्तरमा विस्तार गर्ने योजना

कम्पनीले आगामी दिनमा सेवा तथा पूर्वाधार थप विस्तार गरी रिसोर्टलाई पाँचतारे स्तरको एकीकृत रिसोर्टका रूपमा स्तरोन्नति गर्ने दीर्घकालीन योजना अघि सारेको छ। पर्यटकलाई लक्षित गर्दै आतिथ्य सेवाको गुणस्तर थप अभिवृद्धि गर्ने कम्पनीको योजना छ।

रिसोर्टको पर्याप्त जग्गा रहेको जनाउँदै कम्पनीले कोटेश्वरदेखि धुलिखेलसम्मको सडकखण्डको सुधार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेकाले सामान्य यातायातको अवस्थामा काठमाडौं उपत्यकाबाट रिसोर्टसम्म करिब ४५ मिनेटमै पुग्न सकिने अवस्था बनेको जनाएको छ।

कम्पनीका अनुसार प्रस्तावित सार्वजनिक निष्कासनबाट संस्थागत विकास, व्यवसाय विस्तार तथा दीर्घकालीन पूँजी व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।