मुम्बई
महाराष्ट्रका खाद्य तथा औषधि प्रशासन आयुक्त तुकाराम मुन्धे अहिले भारतमा चर्चाको केन्द्रमा छन्। खाद्य सुरक्षा तथा सरसफाइका मापदण्ड उल्लंघन गर्ने रेस्टुरेन्ट, होटल तथा खाद्य व्यवसायविरुद्ध उनले थालेको कडा कारबाही सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी ‘भाइरल अफिसर’का रूपमा चर्चित भएका हुन्।
मुन्धेले मे महिनामा महाराष्ट्रको खाद्य सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालेयता मुम्बईमा ३ हजारभन्दा बढी निरीक्षण तथा छापा अभियान सञ्चालन भइसकेका छन्। यस क्रममा डोमिनोजका चारवटा र पिज्जा हटको एउटा आउटलेटसहित विभिन्न रेस्टुरेन्ट तथा खाद्य व्यवसायका अनुमति पत्र निलम्बन गरिएको छ। क्रिकेट क्लब, होटल, प्रसिद्ध रेस्टुरेन्ट तथा सडकछेउका खाद्य पसलसमेत उनको निगरानीमा परेका छन्।
उनको अभियानका क्रममा फोहोर भान्सा, किरा परेको खाना, म्याद गुज्रिएका खाद्य सामग्री तथा अस्वच्छ अवस्थामा खाना तयार गरिएका दृश्यहरू सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ। कडा कारबाहीका कारण कतिपय व्यवसायीले आलोचना गरे पनि सर्वसाधारणबाट भने उनले ठूलो समर्थन पाइरहेका छन्। केही व्यवसायले कानुनी चुनौतीसमेत दिएका छन्, तर मुन्धेले खाद्य सुरक्षा मापदण्ड पालना गराउनु आफ्नो जिम्मेवारी भएको बताएका छन्।











प्रतिक्रिया