बैंकिङ सेवा थप डिजिटल बनाउँदै सिद्धार्थ बैंक, कर्पोरेट खाता अनलाइनबाटै


काठमाडौं ।

सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत बैंक खाता खोल्न सकिने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकलाई लक्षित गर्दै यस्तो सेवा सुरु गरिएको हो। नयाँ सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकले अनलाइनबाटै खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन्।

ग्राहकको समय बचत गर्नुका साथै खाता खोल्ने प्रक्रियामा हुने झन्झट कम गर्ने र बैंकिङ सेवालाई थप सहज, सरल तथा प्रविधिमैत्री बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

अनलाइन प्रणालीमार्फत आवश्यक विवरण तथा कागजात पेश गरी व्यवसायिक तथा कर्पोरेट खाता खोल्ने प्रक्रिया डिजिटल माध्यमबाटै अघि बढाउन सकिनेछ। यद्यपि खाता सक्रियताका लागि आवश्यक प्रमाणीकरण तथा अन्य प्रक्रिया पूरा गर्न ग्राहकले सक्कली कागजातसहित आफूलाई पायक पर्ने बैंकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।

बैंकले नयाँ डिजिटल सेवाले व्यवसाय तथा संस्थागत ग्राहकलाई खाता खोल्ने प्रक्रियामा थप सुविधा पुग्नुका साथै बैंकिङ सेवामा डिजिटल पहुँच विस्तार गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

सेवाका सम्बन्धमा थप जानकारी लिन बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।