काठमाडौँ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका एजेन्सी विकास प्रबन्धक (एडीएम) तथा उदीयमान सन क्लबका योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।
बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट एडीएम, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीसहित विभिन्न शाखाका अभिकर्ता, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो।
कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले कम्पनीको सेल्स पोलिसी २०८३/८४ तथा आगामी कार्यक्रमबारे जानकारी दिँदै अभिकर्तालाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा सक्रिय हुन आग्रह गर्नुभयो।
प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राखेको बताउनुभयो। अभिकर्ताको व्यवसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि निरन्तर तयार रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनालाई निरन्तरता दिने बताउनुभयो।
प्रमुख कार्यकारी अधिकृत अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा आफ्नो छुट्टै पहिचान र सकारात्मक व्यवसायिक छवि बनाउन सफल भएको दाबी गर्नुभयो। कम्पनीको सफलतामा मधेश प्रदेशका अभिकर्ता, एडीएम तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले उनीहरूको मेहनत र लगनशीलताको प्रशंसा गर्नुभयो।

मधेश प्रदेशमा बीमाको पहुँच थप विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई सशक्त बनाउने योजना रहेको अर्यालले बताउनुभयो। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई आगामी दिनमा समेत प्रोत्साहन र सम्मान प्रदान गरिने उहाँको भनाइ थियो।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेका एडीएम तथा उदीयमान सन क्लबका योग्य अभिकर्तालाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मानले अभिकर्तामा थप उत्साह र ऊर्जा प्रदान गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।
कम्पनीका अनुसार कार्यक्रमले अभिकर्ताको उत्प्रेरणा, नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको छ।
सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा र बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको जनाएको छ।











प्रतिक्रिया