नेपालमा एसआरएमका एक हजार एक सय ११ वटा ईभी बिक्री, १० हजार पुर्‍याउने लक्ष्य


काठमाडौं।

भिजी मोटर्सले नेपालमा एसआरएम ब्रान्डका १ हजार १११ वटा विद्युतीय सवारीसाधन (ईभी) बिक्री गरेको छ। कम्पनीले आगामी दिनमा नेपालमा एसआरएमका १० हजार विद्युतीय सवारीसाधन बिक्री गर्ने लक्ष्य सार्वजनिक गरेको छ।

भिजी मोटर्स एसआरएम ब्रान्डका सवारीसाधनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हो। कम्पनीले नेपाली बजारमा एसआरएमलाई व्यावसायिक विद्युतीय सवारीको प्रमुख ब्रान्डका रूपमा स्थापित गर्ने उद्देश्यसहित सन् २०२३ अगस्टदेखि यसको बिक्री सुरु गरेको थियो।

१ हजार १११ वटा ईभी बिक्रीको उपलब्धि हासिल गरेपछि कम्पनीले बिक्रीपछिको सेवा तथा ग्राहक सुविधालाई थप विस्तार गर्ने योजना अघि सारेको जनाएको छ। नेपालभर ब्रान्डको पहुँच बढाउँदै दीर्घकालीन रूपमा १० हजार एसआरएम ईभी सडकमा पु¥याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।

१ हजार १११ वटा सवारी बिक्रीको अवसरमा भिजी मोटर्सले विशेष समारोह आयोजना गरेको थियो। कार्यक्रममा एसआरएमका एसियाली बजारका महाप्रबन्धक वाङ लु, बिक्री प्रबन्धक लुसिया वाङ, भिजी मोटर्सका प्रबन्ध निर्देशक विशाल अग्रवाल, प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे, बिजनेस हेड चन्दन रौनियारलगायतको सहभागिता थियो। नेपाली तेक्वान्दो खेलाडी तथा एसआरएमका ब्रान्ड एम्बेसडर दीपक विष्ट पनि कार्यक्रममा उपस्थित थिए।

एसआरएम र भिजी मोटर्सले १ हजार १११ सवारी बिक्रीको उपलब्धिलाई ‘१,१११ यात्रा, १,१११ जीविका र १,१११ कथा’का रूपमा प्रस्तुत गरेका छन्। कम्पनीका अनुसार एसआरएमका विद्युतीय सवारी यात्रु ओसारपसार, विद्यालय तथा संस्थागत यातायात, सामान ढुवानी र साना व्यवसायमा प्रयोग भइरहेका छन्।

नेपालको सडक अवस्थालाई ध्यानमा राख्दै एसआरएमका विद्युतीय सवारीमा ग्राउन्ड क्लियरेन्स बढाउनुका साथै मोटरको शक्ति र टर्कसमेत वृद्धि गरिएको कम्पनीले जनाएको छ। सिएटिएलका ब्याट्री प्रयोग गरिएका यी सवारीमा सर्तसहित ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध रहेको जनाइएको छ।

भिजी मोटर्सका अनुसार नेपालमा एसआरएमका ३० भन्दा बढी सर्भिस टचपोइन्ट तथा वर्कसप सञ्चालनमा छन्। त्यस्तै, विद्युतीय सवारीको इकोसिस्टम विस्तार गर्ने क्रममा १०० भन्दा बढी चार्जिङ स्टेसन स्थापना भइसकेका छन्।

कम्पनीले ४० जिल्लाका १ हजार ५०० भन्दा बढी मेकानिक तथा ५० भन्दा बढी ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकलाई ईभी प्रविधि र सडक सुरक्षासम्बन्धी तालिम दिएको जनाएको छ।

एसआरएमले नेपालमा आफ्नो उत्पादन विस्तार गर्ने क्रममा दुईवटा विद्युतीय ट्रक र एउटा एमपीभीसमेत ल्याउने तयारी गरिरहेको कम्पनीले जनाएको छ।

समारोहमा एसआरएमका महत्वपूर्ण ग्राहक तथा साझेदारलाई सम्मानसमेत गरिएको थियो। हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजलाई १ हजारौं एसआरएम खरिदकर्ताका रूपमा तथा युरो स्कुल, छाउनीलाई सबैभन्दा धेरै एसआरएम ईभी खरिद गर्ने संस्थाका रूपमा सम्मान गरिएको थियो। त्यस्तै, डिस्कभरी एजुकेसन नेटवर्क काठमाडौं प्रालिलाई ‘एसआरएम पायोनियर अवार्ड’ प्रदान गरिएको थियो।

१ हजार १११ वटा सवारी बिक्रीको उपलब्धिपछि भिजी मोटर्सले नेपालमा १० हजार एसआरएम सवारीसाधन बिक्री गर्ने नयाँ लक्ष्य तय गरेको छ। यसका लागि कम्पनीले चार्जिङ पूर्वाधार, सर्भिस सुविधा, प्राविधिक तालिम, स्पेयर पार्ट्सको उपलब्धता तथा ग्राहक सेवामा थप लगानी गर्ने जनाएको छ। कम्पनीले विद्युतीय व्यावसायिक सवारीको प्रयोगलाई देशभर विस्तार गर्ने योजना अघि सारेको छ।