गोरखा इतिहास र पहिचानलाई सम्मान गर्दै रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक


काठमाडौँ।

रोयल इन्फिल्डले नेपालको गोरखा इतिहास, परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ। गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो विशेष संस्करणलाई नेपालको पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ।

विशेष गोरखा ग्रीन रङमा उपलब्ध यो मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको चिन्ह राखिएको छ। क्लासिक ३५० को मौलिक डिजाइनलाई कायम राख्दै नयाँ संस्करणमा गोरखा विरासत झल्काउने डिजाइन तथा विशेषता थपिएका छन्।

मोटरसाइकलमा सहज गियर परिवर्तनका लागि असिस्ट एन्ड स्लिपर क्लच उपलब्ध छ। क्लासिक ३५० सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर तथा जे–सिरिज इन्जिनलाई यस संस्करणमा निरन्तरता दिइएको छ।

रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको बताउँदै गोरखा एडिसनमार्फत नेपालको गौरवपूर्ण विरासतलाई सम्मान गर्न खोजिएको बताए।

नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले पनि गोरखा एडिसनले नेपालको इतिहास, पहिचान र गौरवलाई नयाँ ढंगले प्रस्तुत गर्ने बताए।

मोटरसाइकलसँगै कम्पनीले गोरखा कलेक्सन समेत सार्वजनिक गरेको छ। उक्त कलेक्सनमा राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेललगायत सामग्री समावेश छन्। कलेक्सनको डिजाइनमा क्रस खुकुरी, नेपाली ढाका बुनाइ तथा हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको कम्पनीले जनाएको छ।

गोरखा एडिसन ग्रीनसँगै रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको छ।

कम्पनीका अनुसार क्लासिक ३५० गोरखा एडिसनको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र यो नेपालभरका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ।

रोयल इन्फिल्ड सन् १९०१ देखि मोटरसाइकल उत्पादन गर्दै आएको ब्रान्ड हो। कम्पनीले नेपालमा पनि क्लासिक ३५० सहित विभिन्न मोडल बिक्री गर्दै आएको छ। नेपालमै रोयल इन्फिल्डको सीकेडी एसेम्बली सुविधा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।