मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्व लक्षित कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक


काठमाडौँ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दशैं, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा ल्याएको छ।

चाडपर्वको समयमा आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले यस्तो योजना सार्वजनिक गरेको जनाएको छ। योजनाअन्तर्गत कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जामा बैंकले प्रकाशित गरेको प्रिमियम दरमा थप ०.५० प्रतिशतसम्मको विशेष सुविधा उपलब्ध गराउने जनाएको छ।

बैंकका अनुसार कृषि तथा एसएमई कर्जामा न्यूनतम ०.५० प्रतिशत प्रिमियम दरमै कर्जा लिन सकिनेछ। साथै, कर्जा प्रवाह गर्दा लाग्ने कर्जा प्रशासनिक शुल्कमा २५ प्रतिशत छुटसमेत प्रदान गरिनेछ।

यस योजनामार्फत चाडपर्वका बेला व्यवसाय विस्तार, उद्यम सञ्चालन तथा वित्तीय आवश्यकताका लागि आवश्यक स्रोत जुटाउन कृषि तथा साना–मझौला व्यवसायीलाई सहयोग पुग्ने बैंकको विश्वास छ। विशेष कर्जा योजना सीमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ।

योजनाअन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पुँजीलगायत प्रयोजनका लागि कर्जा लिन सकिनेछ। अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्थानान्तरण (टेकओभर) गर्नसमेत उक्त कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

विशेष कर्जा सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखाबाट लिन सकिनेछ। ग्राहकले नजिकको शाखामा सम्पर्क गरी सम्बन्धित कर्जा योजना, लागू हुने ब्याजदर, आवश्यक कागजात तथा अन्य शर्तबारे विस्तृत जानकारी लिन सक्नेछन्।