काठमाडौँ ।
नेपालमा विद्युत, ऊर्जा, इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा प्रदर्शनी आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहनेछन्। विद्युत, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रका नवीनतम उत्पादन, प्रविधि र सेवाबारे जानकारी तथा प्रदर्शन गरिनेछ।
प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, आधुनिक स्वीच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय सामग्री, कार्यालय प्रविधि, सञ्चार तथा सूचना प्रविधि र वैकल्पिक ऊर्जा प्रणालीलगायत सामग्री राखिने आयोजकले जनाएको छ।
नेपालमा बढ्दो जलविद्युत उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षता प्रवद्र्धन तथा विद्युतीय पूर्वाधारको विकासमा प्रदर्शनीले सहयोग पुग्ने आयोजकको विश्वास छ। साथै उद्योगी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबीच व्यावसायिक सहकार्य र नयाँ अवसर सिर्जना गर्ने उद्देश्यसमेत प्रदर्शनीको रहेको छ।
प्रदर्शनीले स्वदेशी तथा विदेशी उद्योगी, व्यवसायी, उद्यमी, उत्पादक, वितरक र अन्य सरोकारवालालाई एउटै व्यावसायिक मञ्चमा ल्याई ज्ञान, अनुभव तथा प्रविधि आदानप्रदानको अवसर प्रदान गर्ने जनाइएको छ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा उद्योगी–व्यवसायी, सरकारी अधिकारी, आर्किटेक्ट, इलेक्ट्रीकल इन्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिक, विद्युतीय व्यवसायी, सञ्चारकर्मी, विद्यार्थी तथा सर्वसाधारण गरी ३० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एशोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सहयोग गर्नेछन्।
आयोजकले प्रदर्शनीबाट नेपालमा ऊर्जा, विद्युत तथा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगको व्यावसायिक विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवद्र्धन र अन्तर्राष्ट्रिय सहकार्यमा योगदान पुग्ने अपेक्षा गरेको छ।











प्रतिक्रिया