भारतमा हुने फुटवेयर एक्स्पोमा नेपाली ब्रान्ड जेम्सको सहभागिता रहने


काठमाडौँ ।

भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’ मा नेपाली जुत्ता ब्रान्ड जेम्सले सहभागिता जनाउने भएको छ।

अगस्ट २१ देखि २३ तारिखसम्म नयाँ दिल्लीस्थित प्रगति मैदानमा आयोजना हुने एक्स्पोमा जेम्सको उत्पादक कम्पनी नेपाल जुत्ता फ्याक्ट्री प्रालिले आफ्ना उत्पादनसहित स्टल राख्ने भएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अर्यालका अनुसार लामो समयपछि नेपाली कम्पनीले उक्त एक्स्पोमा सहभागिता जनाउन लागेको हो।

विगत २५ वर्षदेखि विभिन्न प्रकारका जुत्ता उत्पादन गर्दै आएको जेम्सले प्रदर्शनीमा आफ्ना उत्पादन, गुणस्तर र उत्पादन क्षमताबारे भारतीय तथा अन्य बजारका व्यवसायीलाई जानकारी गराउने जनाएको छ।

सीईओ अर्यालका अनुसार एक्स्पोमा भारतका करिब ४ सय जुत्ता उद्योग तथा व्यवसायको सहभागिता रहनेछ। उनका अनुसार अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीमा नेपाली ब्रान्डको उपस्थितिले भारतीय बजारमा नेपाली जुत्ताको पहिचान बढाउन तथा नयाँ बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाली जुत्ताको गुणस्तर र उत्पादन क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा एक्स्पोलाई लिइएको अर्यालले बताए।