काठमाडौं ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै मनाएको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता गर्दै नवजात शिशुका लागि प्रयोग हुने ‘न्यानो नानी’ बेबी वार्मर विभिन्न स्वास्थ्य संस्थामा वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीले वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभरका शाखामार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण र बीमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममार्फत समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए। उनका अनुसार रक्तदानले अस्पतालमा हुने रगतको अभाव कम गर्न, वृक्षारोपणले वातावरण संरक्षण गर्न तथा खाद्यान्न वितरणले आर्थिक रूपमा विपन्न परिवारलाई राहत पुर्याउन सहयोग गर्नेछ।
वार्षिकोत्सवकै अवसरमा आइएमई लाइफ र राष्ट्रिय आविष्कार केन्द्रबीच ‘न्यानो नानी’ बेबी वार्मर वितरणसम्बन्धी सहकार्य सम्झौता भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सम्झौताले दुवै संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमार्फत सहयोग गर्ने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत गरेको बताए।
सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा विकास गरी उत्पादन गरेको ‘न्यानो नानी’ बेबी वार्मर आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ। समय नपुगी वा कम तौल भएर जन्मिएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराउन प्रयोग हुने यो उपकरण दुर्गम तथा स्वास्थ्य सुविधाको पहुँच सीमित भएका क्षेत्रमा विशेष उपयोगी हुने कम्पनीले जनाएको छ।
कार्यक्रमको पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ बेबी वार्मर हस्तान्तरण गरिने भएको छ। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सेवामा कम पहुँच रहेका यी क्षेत्रका नवजात शिशुको स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यले उपकरण वितरण गर्न लागिएको कम्पनीले जनाएको छ।
सम्बन्धित स्वास्थ्य संस्थामा उपकरण जडान भएपछि समय नपुगी वा कम तौलमा जन्मिएका नवजात शिशुलाई आवश्यक तापक्रम व्यवस्थापनमा सहयोग पुग्ने तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ।
प्रमुख कार्यकारी अधिकृत खड्काले आइएमई लाइफले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको बताए। आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।
कम्पनीले जीवन बीमाबारे जनचेतना अभिवृद्धि गर्ने, बीमा सेवामार्फत ग्राहकको वित्तीय सुरक्षा बढाउने र राष्ट्रको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यसहित आफ्नो सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
नौ वर्षको यात्रामा सर्वसुलभ पहुँच, छिटोछरितो दाबी भुक्तानी र ग्राहकको आवश्यकताअनुसारका बीमा समाधानमार्फत ग्राहकको विश्वास आर्जन गरेको कम्पनीको दाबी छ। देशभर विस्तार भएको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत गुणस्तरीय बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि कम्पनीले दोहोर्याएको छ।











प्रतिक्रिया