नेपाली अटो मेकानिकले गरे चीनको एसआरएम कारखानामा ईभी प्रविधिको प्रत्यक्ष अवलोकन


काठमाडौं ।

नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग र बजार विस्तार भइरहेका बेला दक्ष प्राविधिक जनशक्ति विकासमा जोड दिन थालिएको छ। यसैक्रममा नेपाल अटो मेकानिक व्यवसाय महासंघका ३० जना प्रतिनिधिले चीनको चोङछिङस्थित ईभी उत्पादन कारखानाको भ्रमण गरी विद्युतीय सवारीसाधनमा प्रयोग हुने प्रविधिबारे प्रत्यक्ष जानकारी लिएका छन्।

भिजी मोटर्सको पहल तथा सम्बन्धित चिनियाँ सवारीसाधन निर्माता कम्पनीको सहयोगमा महासंघका प्रतिनिधिले साउन २६ र २७ गते फुलिङ, चोङछिङस्थित कारखानाको अवलोकन गरेका हुन्।

भ्रमणका क्रममा नेपाली प्राविधिकहरूले सवारीसाधनको उत्पादन तथा एसेम्बली प्रक्रिया, गुणस्तर नियन्त्रण, परीक्षण प्रणाली र ईभीमा प्रयोग हुने प्रविधिबारे जानकारी लिएका थिए। उनीहरूले चिनियाँ प्राविधिक विशेषज्ञसँग अन्तरक्रिया गर्दै विद्युतीय सवारीसाधनको उत्पादन, मर्मतसम्भार तथा प्राविधिक पक्षका विषयमा अनुभव आदानप्रदानसमेत गरेका थिए।

भिजी मोटर्सका अनुसार कारखाना भ्रमणले नेपाली अटो मेकानिकलाई सामान्य वर्कसपमा प्राप्त हुने व्यावहारिक ज्ञानभन्दा बाहिर गएर ईभीको उत्पादन, इन्जिनियरिङ, परीक्षण तथा गुणस्तर नियन्त्रण प्रक्रियालाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर दिएको छ।

नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गर्दै आएको भिजी मोटर्सले सवारीसाधन बिक्रीसँगै दक्ष प्राविधिक जनशक्ति विकासमा पनि काम गर्दै आएको जनाएको छ। कम्पनीले विभिन्न स्थानमा मेकानिक मिट आयोजना गर्नुका साथै ईभीसम्बन्धी प्राविधिक प्रशिक्षण र साइटमै पुगेर प्राविधिक समस्या समाधान गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार ईभीसम्बन्धी प्राविधिक प्रशिक्षणको पहिलो चरण पूरा भइसकेको छ भने दोस्रो चरणको प्रशिक्षण अघि बढाउने तयारी भइरहेको छ। दोस्रो चरणमा ईभी मर्मतसम्भारका लागि आवश्यक उपकरणको पहिचान तथा प्रयोगदेखि सवारीसाधनको प्राविधिक मर्मतसम्मका विषय समेटिनेछ।

यसअघि पनि भिजी मोटर्सले नेपाल अटो मेकानिक व्यवसाय महासंघका सदस्यलाई लक्षित गरी ईभीको डायग्नोसिस, सर्भिसिङ तथा मर्मतसम्बन्धी व्यावहारिक प्रशिक्षण सञ्चालन गरेको थियो। चीनको कारखाना भ्रमणले उक्त व्यावहारिक ज्ञानलाई ईभी उत्पादन र प्रविधिको वास्तविक प्रक्रियासँग जोड्ने अवसर दिएको कम्पनीको भनाइ छ।

भिजी मोटर्सका कमर्सियल हेड सजल श्रेष्ठले नयाँ प्रविधि भित्र्याउनु मात्रै पर्याप्त नभई त्यसलाई सञ्चालन तथा मर्मत गर्न सक्ने दक्ष जनशक्ति विकास पनि उत्तिकै आवश्यक रहेको बताए।

उनका अनुसार ईभीमा परम्परागत मेकानिकल प्रणालीसँगै विद्युतीय प्रणाली, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक कम्पोनेन्ट, डायग्नोसिस, सुरक्षा प्रणाली तथा सफ्टवेयरसम्बन्धी ज्ञान आवश्यक हुन्छ। त्यसैले प्रविधिको विकाससँगै प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

नेपालमा ईभीको प्रयोग बढ्दै जाँदा दक्ष प्राविधिकको मागसमेत बढ्ने देखिन्छ। सही डायग्नोसिस, गुणस्तरीय मर्मतसम्भार र प्रभावकारी बिक्रीपछिको सेवा उपलब्ध गराउन सक्षम जनशक्तिले विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरूको धारणा छ।

भिजी मोटर्सले सम्बन्धित सवारीसाधन निर्माता कम्पनी, नेपाल अटो मेकानिक व्यवसाय महासंघ तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिँदै नेपाली अटोमोबाइल क्षेत्रलाई थप दक्ष र प्रविधिमैत्री बनाउन योगदान गर्ने जनाएको छ।