काठमाडौं।
बैंकिङ, वित्त र बीमा संस्थान नेपाल लिमिटेड (बीएफआईएन) ले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन १४ अगस्टमा काठमाडौंको र्याडिसन होटलमा आयोजना हुनेछ।
‘भविष्यको लागि तयार वित्तीय प्रणाली : विश्वव्यापी अनिश्चितताको बीचमा नेतृत्व, दिगोपन र रूपान्तरण’ विषयमा आयोजना हुने सम्मेलनमा बैंकिङ, वित्त तथा बीमा क्षेत्रको भविष्य, वित्तीय स्थायित्व र बदलिँदो विश्व अर्थतन्त्रका विषयमा छलफल हुने बीएफआईएन ले जनाएको छ।
सम्मेलनमा नीति निर्माता, नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख, बीमा क्षेत्रका प्रतिनिधि, शिक्षाविद् तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य डा. रवीन्द्र प्रसाद पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनेबीएफआईएनले जनाएको छ।
सम्मेलनका क्रममा BFIN जर्नलको खण्ड VII विमोचन गरिनेछ। साथै, BFIN र भारतको दक्षिण एसियाली विश्वविद्यालय तथा BFIN र चीनको दिगो लगानीको क्षमता–निर्माण गठबन्धन (CASI) बीच उच्च शिक्षा र दिगो वित्तका क्षेत्रमा क्षेत्रीय सहकार्य सुदृढ गर्ने उद्देश्यले दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
सम्मेलनमा नेपालका लागि IMF का आवासीय प्रतिनिधि प्रणव गुप्तासहित भारत, बेलायत, चीन, बंगलादेश तथा नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था, नियामक निकाय र विकास संस्थाका उच्च अधिकारी तथा विज्ञहरूको सहभागिता रहनेछ।
कार्यक्रममा विश्वव्यापी समष्टिगत आर्थिक अनिश्चितता, भूराजनीतिक परिवर्तन, वित्तीय स्थायित्व, पूर्वाधार वित्तपोषण, नेतृत्व, दिगो तथा समावेशी वित्त, जलवायु जोखिम, ESG, डिजिटल भुक्तानी, साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा छलफल हुने बताइएको छ।
सम्मेलनमा चारवटा विशेष सत्र र तीनवटा उच्चस्तरीय प्यानल छलफल आयोजना हुनेछन्। ती छलफलमार्फत भविष्यमा देखिन सक्ने चुनौती सामना गर्न सक्षम, लचिलो तथा दिगो वित्तीय प्रणाली निर्माणका लागि आवश्यक नीति तथा व्यावहारिक उपायबारे विचार आदानप्रदान गरिनेछ।
बीएफआईएनका अनुसार सम्मेलनमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नियामक निकाय, सरकारी संस्था, शिक्षण तथा अनुसन्धान संस्था र विकास साझेदार संस्थाका २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
यसैबीच,बीएफआईएनले वार्षिकोत्सवको अवसरमा बैंकिङ, वित्त तथा बीमा क्षेत्रमा व्यावसायिक विकास र क्षमता निर्माणमा उत्कृष्ट योगदान पुर्याउने संस्थालाई BFIN Learning & Development (L&D) Award 2026 समेत प्रदान गर्ने भएको छ।
सम्मेलनमा विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रका संस्थाहरूको सहकार्य रहेकोबीएफआईएनले जनाएको छ।











प्रतिक्रिया