मुद्दा दायर भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ध्यानाकर्षण, सेवा प्रभावित नभएको दाबी


काठमाडौं।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध मुद्दा दायर भएको विषयमा बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार हुँदै आएको नियमित कामकारबाहीसँग सम्बन्धित विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओविरुद्ध मुद्दा दायर भएको जनाएको हो।

बैंकका अनुसार उक्त घटनाका कारण बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध सिर्जना भएको छैन। बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहेको जनाउँदै बैंकले आफ्ना सम्पूर्ण सेवा तथा गतिविधि पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध सञ्चालन हुने स्पष्ट पारेको छ।

बैंकले संस्थाको सबलता, ग्राहकको हित तथा समग्र बैंकिङ प्रणालीको स्थायित्वलाई प्राथमिकतामा राखेर आफ्नो सेवा सञ्चालन गरिरहेको जनाएको छ।

त्यस्तै, बैंकिङ प्रणालीप्रति जनताको विश्वास, कर्मचारीको मनोबल तथा वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय र सहयोगका लागि बैंकले आग्रह गरेको छ।

बैंकले पछिल्लो घटनासम्बन्धी अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन समेत आग्रह गरेको छ। बैंकका सम्बन्धमा आधिकारिक रूपमा जारी हुने सूचनालाई मात्र आधार बनाउन निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा अन्य सरोकारवालालाई अनुरोध गरिएको छ।

बैंकले आफ्ना निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाबाट प्राप्त हुँदै आएको विश्वास र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरेको छ।

बैंकले संस्थाको नियमित सेवा प्रवाहमा कुनै असर नपरेको र बैंकिङ कारोबार पूर्ववत् रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको हो।