नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक


काठमाडौं ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पहिलो दिनमै २९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरु भएको हो ।

नेपाल प्रहरी क्लबस्थित प्रदर्शनी हलमा आयोजित विशेष कार्यक्रमबीच एक्स्पोको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा जोड्ने साझा मञ्च भएको बताइन् ।

उनले पटक–पटक परिवर्तन भइरहने नीतिगत व्यवस्थाका कारण व्यवसायीमा अनिश्चितता बढेको र नयाँ लगानी भित्र्याउन समस्या भइरहेको बताइन् । निजी क्षेत्र तथा सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै नीतिगत परिवर्तन गर्न उनले सरकारलाई सुझाव दिइन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले व्यवसायीले सवारीसाधन बिक्रीमा मात्रै केन्द्रित नभई सुरक्षाको क्षेत्रमा समेत सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताए । उनले सवारीसाधनका ब्रान्डहरूले बिक्रीपछिको सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई सधैं राजस्वको स्रोतका रूपमा मात्रै हेर्ने गरेको गुनासो गरे । उनले अटोमोबाइललाई विलासी वस्तुको सट्टा आवश्यकताको क्षेत्रका रूपमा लिनुपर्ने बताए ।

नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये भन्सार दर लागू भएको दाबी गर्दै उनले विद्युतीय सवारीसाधनका लागि समेत स्थिर नीति आवश्यक रहेको बताए । निजी क्षेत्र लगानीका लागि तयार रहेको भन्दै उनले लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो मात्रामा राजस्व प्रदान गर्ने प्रमुख क्षेत्रमध्ये एक भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अब यातायातको विषयमा मात्र सीमित नरहेको बताए । यो क्षेत्र देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्यांक प्रस्तुत गरे ।

उनका अनुसार मोबिलिटी क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिलगायतका विभिन्न क्षेत्रसँग प्रत्यक्ष रूपमा अन्तरसम्बन्धित छ । त्यसैले यस क्षेत्रलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा नभई आर्थिक विकासको इन्जिनका रूपमा लिनुपर्ने उनले बताए ।

एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

एक्स्पोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फाइनान्सियल डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई): मोबिलिटी–फ्युलिङ–इकोनोमिक ग्रोथ’ विषयमा प्यानल छलफलसमेत गरिएको थियो । पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष रितु सिंह वैद्य सहभागी थिए ।

एक्स्पोको पहिलो दिन आयोजित लर्निङ सेसनमा तीन सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा विभिन्न लर्निङ सेसन, पोलिसी डायलग र उद्योगसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछन् ।

त्यस्तै, कार्यक्रममा ‘बेसिक लाइफ सपोर्ट एन्ड इमिडिएट केयर एट रोड ट्राफिक एक्सिडेन्ट्स’ विषयमा ग्रान्डी इन्टरनेसनल हस्पिटलका तर्फबाट जानकारीमूलक प्रस्तुति दिइएको थियो ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको यो दोस्रो संस्करण हो । एक्स्पो साउन ३१ गतेसम्म ६ दिन सञ्चालन हुनेछ ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन् ।

एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारीसाधन खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।

एक्स्पोको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक र पावर्ड बाई पार्टनरमा रेडबुल रहेका छन् । बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक तथा इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

त्यसैगरी, प्रविधि, शिक्षा, चार्जिङ, राइड, हाइड्रेसन, हस्पिटालिटी, मेडिकल, सर्भिलियन्स तथा फायर एन्ड सेफ्टी पार्टनरका रूपमा विभिन्न कम्पनी तथा संस्थाको सहभागिता रहेको छ । एक्स्पोमा टिकटिङ, क्यूआर, अडियो–भिजुअल, डिजिटल, सवारी सुरक्षा, व्यवस्थापन, कनेक्टिभिटी तथा प्रकाशन साझेदारसमेत रहेका छन् ।