एनआईसी एशिया बैंकद्वारा विद्यालय र पुनर्स्थापना केन्द्रलाई सहयोग


काठमाडौँ।

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालय तथा विशेष पुनर्स्थापना केन्द्रलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग उपलब्ध गराएको छ।

विद्यार्थीको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका–ताथलीस्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र, नवलपरासीको पालडाँडास्थित शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय तथा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ ठोकर्पास्थित बाघ भैरव माध्यमिक विद्यालयलाई सहयोग गरेको हो।

बैंकले शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालयमा अध्ययनरत ५०६ भन्दा बढी विद्यार्थीको डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यले डिजिटल बोर्ड प्रदान गरेको जनाएको छ। साउन २० गते आयोजित कार्यक्रममा बैंकका सुनवल सर्कल हेड तिलक राम खनाल र बर्दघाट शाखा प्रमुख प्रेम पौडेलले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद चापागाईंलाई डिजिटल बोर्ड हस्तान्तरण गरेका थिए।

त्यस्तै, विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रद्वारा सञ्चालित अटिजम स्कुल भवनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक विद्युतीय वायरिङ तथा भवन रङरोगनका लागि समेत बैंकले सहयोग गरेको छ। उक्त कार्य सम्पन्न भएपछि साउन २१ गते बैंकका काठमाडौं पूर्व सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख इश्वर जि.सी.ले केन्द्रकी अध्यक्ष सविता उप्रेतीलाई सहयोग हस्तान्तरण गरेका थिए।

यसैगरी, सिन्धुपाल्चोकको बाघ भैरव माध्यमिक विद्यालयमा अध्ययनरत ३०२ भन्दा बढी विद्यार्थीका लागि बैंकले विद्यालय झोला र प्रोजेक्टर उपलब्ध गराएको छ। साउन २२ गते आयोजित कार्यक्रममा बैंकका बनेपा सर्कल हेड अमृत मान श्रेष्ठ र ईएसजी एण्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौड्यालले विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।

बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यार्थीको सिकाइ तथा पठनपाठनमा सहजता पुग्नुका साथै विद्यालय र पुनस्र्थापना केन्द्रमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, विशेष आवश्यकता भएका विद्यार्थीका लागि सुविधा सम्पन्न शैक्षिक तथा पुनस्र्थापना वातावरण निर्माणमा समेत सहयोग पुग्ने बैंकको अपेक्षा छ।