नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा


काठमाडौं ।

आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालन गरिएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्तालाई सहभागी हुने व्यवस्था मिलाएको छ।

यस कार्यक्रमअन्तर्गत खल्तीमार्फत १०० रुपैयाँभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार छनोट प्रक्रियामा सहभागी हुनेछन्।

कार्यक्रममा प्रत्येक दिन एक जना विजेताले कर कट्टीपछिको १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा छनोट हुने एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

खल्तीमार्फत गरिएका योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पुग्ने व्यवस्था गरिएको छ। सहभागी प्रयोगकर्ताको उपहार कुपन स्वतः सिर्जना हुने र खल्ती एपमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।

विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गर्नेछ। छनोट भएका विजेतालाई मोबाइल फोन तथा इमेलमार्फत जानकारी गराइनेछ भने खल्तीमार्फत सहभागी भएका विजेतालाई कम्पनीले समेत विभिन्न माध्यमबाट जानकारी दिने जनाएको छ।

सरकारको यस अभियानमा सहकार्य गर्दै खल्तीले बिलमा आधारित कारोबारलाई प्रोत्साहन गर्ने, डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास बढाउने र औपचारिक अर्थतन्त्र विस्तारमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारी पहललाई खल्तीका प्रयोगकर्तासम्म सहज रूपमा पुर्‍याउन पाउँदा उत्साहित रहेको बताए। उनले वित्तीय पारदर्शिता प्रवर्द्धन, डिजिटल अर्थतन्त्र निर्माण र सुरक्षित तथा समावेशी वित्तीय सेवामार्फत नेपालीलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने प्रयास निरन्तर रहने उल्लेख गरे।

आईएमई खल्ती लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त भुक्तानी सेवा प्रदायक संस्था हो। आईएमई पे र खल्तीको एकीकरणपछि ‘खल्ती बाई आईएमई’ ब्रान्डअन्तर्गत सञ्चालन हुँदै आएको कम्पनीले डिजिटल भुक्तानी, मर्चेन्ट क्यूआर, बिल भुक्तानी, टिकटिङ, रेमिट्यान्सलगायत विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ।