काठमाडौं ।
एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने भएको छ।
योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडका अनुसार २०८३ साल असार मसान्तमा कायम कुल इकाई पुँजी ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसाको ५.२५ प्रतिशत (करसहित) का दरले नगद प्रतिफल वितरण गर्ने निर्णय भएको हो।
कम्पनीले प्रतिफलस्वरूप कुल २५ करोड ६८ लाख १७ हजार १८८ रुपैयाँ ८७ पैसा बराबरको रकम इकाईधनीलाई वितरण गर्ने जनाएको छ।
उक्त प्रतिफल प्राप्त गर्नका लागि २०८३ साल साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका लगानीकर्ताहरू योग्य हुनेछन्।
कम्पनीका अनुसार प्रतिफल वितरण प्रक्रिया पारदर्शी, व्यवस्थित र नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिनेछ। साथै, लाभांश पुनर्लगानी योजना रोज्ने इकाईधनीहरूले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ।
पुनर्लगानीमा सहभागी नहुने इकाईधनीहरूको प्रतिफल आवश्यक कर कट्टी गरी सम्बन्धित बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।
एनएमबि क्यापिटल लिमिटेडले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण र स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वास कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले बजारको अवस्था, लगानीका अवसर र लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।
कम्पनीले लगानीकर्तालाई आफ्नो बैंक विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न आग्रह गर्दै प्रतिफल वितरणसम्बन्धी थप जानकारीका लागि आधिकारिक माध्यममार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।











प्रतिक्रिया