नेपाल बैंकका ग्राहकलाई छुट


काठमाडौं, (नेस) ।

नेपाल बैंकले ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले काठमाडौंस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि तथा त्यसअन्तर्गत सञ्चालित जनरल अस्पतालसँग सेवा छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौताअनुसार नेपाल बैंकका खातावाला ग्राहक र कर्मचारीले अस्पतालमा उपचार गराउँदा बिरामी दर्ता तथा स्वास्थ्य परीक्षण शुल्कमा शतप्रतिशतसम्म छुट तथा विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रबन्ध निर्देशक रोशन लुइँटेलले हस्ताक्षर गरेका छन् ।

यसैबीच, नेपाल बैंकले काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिसँग पनि यस्तै प्रकृतिको सहकार्य सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अस्पतालका अध्यक्ष दयासागर साहले हस्ताक्षर गरेका हुन् ।
बैंकले यी सम्झौतामार्फत आफ्ना ग्राहक तथा कर्मचारीलाई गुणस्तरीय दन्त तथा स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ ।