काठमाडौं।
नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा सक्रिय एमएडब्लु अर्थमुभर्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबी लगायतका निर्माण उपकरण खरिद गर्ने ग्राहकलाई सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौतामा एमएडब्लु अर्थमुभर्सका तर्फबाट सञ्जय देव यादव तथा एभरेष्ट बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार जेसीबी लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंकका देशभर रहेका शाखामार्फत सहज रूपमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले उपकरणको कुल मूल्यको अधिकतम ८० प्रतिशतसम्म फाइनान्स सुविधा लिन सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, ऋण स्वीकृति प्रक्रियालाई थप सरल र छिटो बनाउन आवश्यक कागजात तथा प्रक्रिया पूरा भएको अवस्थामा सात कार्यदिनभित्र डेलिभरी अर्डर जारी गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसबाट ग्राहकहरूले समयमै उपकरण प्राप्त गरी आफ्नो व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।
दुवै संस्थाबीचको यो रणनीतिक सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई आवश्यक उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने विश्वास लिइएको छ। साथै, वित्तीय प्रक्रियामा लाग्ने समय र झन्झट कम गर्दै व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकले आगामी दिनमा पनि ग्राहकको सुविधा, सन्तुष्टि तथा व्यवसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै नवीन र ग्राहकमुखी सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दुवै संस्थाको यो सहकार्यले नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया