६१ प्रतिशत मात्रै बजेट खर्च, २ खर्बभन्दा बढी अपुग



काठमाडौं ।

आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी अन्तिम चरणमा पुग्दै गर्दा चालू आर्थिक वर्षको बजेट खर्चको स्थिति भने न्यून देखिएको छ। आर्थिक वर्ष सकिन करिब डेढ महिना अवधि बाँकी रहँदा ६१ प्रतिशत मात्रै बजेट खर्च भएको छ।

हालसम्म चालूतर्फ ६६ प्रतिशत, पुँजीगततर्फ ३९ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ६२ प्रतिशत मात्रै बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार जेठ महिनाको पहिलो सातासम्म सरकारले लक्ष्यको ५८ प्रतिशत मात्रै आम्दानी गर्न सफल भएको छ। जसमा राजस्वतर्फ लक्ष्यको ५९ प्रतिशत र अनुदानतर्फ ५ प्रतिशत मात्रै प्राप्त गर्न सकेको स्थिति छ । सरकारले संकलन गरेको राजस्वबाट चालू खर्च धान्नसमेत नसक्ने स्थिति देखा पर्दै गएको छ। सरकारले ८ खर्ब ४० अर्ब ४४ करोड रुपियाँ राजस्व आम्दानीसहित अनुदानबाट २ अर्ब ७५ करोड रुपियाँ प्राप्त भएको छ।

उक्त अवधिमा सरकारले ८ खर्ब ६५ अर्ब ५५ करोड रुपियाँ आम्दानी गर्दा खर्च भने १० खर्ब ७४ अर्ब ९० करोड रुपियाँ भएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक हेर्दा सरकारलाई दुई खर्ब रुपियाँभन्दा बढी बजेट घाटा भएको देखिन्छ।

त्यस्तै चालू खर्चतर्फ ७ खर्ब ६४ अर्ब ४४ करोड, पुँजीगत तर्फ १ खर्ब १८ अर्ब रुपियाँ तथा वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ९२ अर्ब ४५ करोड रुपियाँ खर्च भएको छ। चालू आर्थिक वर्षका लक्ष्य अनुसारको अनुमानित आयव्याय प्राप्त हुन नसकेपछि सरकारले चालू आर्थिक वर्षको बजेट १२ दशमलव ६२ प्रतिशतले घटाएको थियो। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको अद्र्धवर्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो।

आर्थिक वर्षको अन्त्यमा धमाधम रकमान्तर गर्ने र भुक्तानी दिने परिपाटी रहँदै आएको हुँदा अब एक महिनामा असारे विकास गरी बजेट खर्चको तथ्यांकलाई ह्वात्तै बढ्न सक्छ। चालू आर्थिक वर्षका निम्ति सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपियाँ विनियोजन गरेको थियो । विनियोजित बजेट २ खर्ब २१ अर्ब रुपियाँ घटाएर १५ खर्ब ३० अर्ब २६ करोड रुपियाँ झारेको छ। चालू आर्थिक वर्षमा सरकारले चालूतर्फ ८८ दशमलव ८४ प्रतिशत, पुँजीगततर्फ ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७ दशमलव ३९ प्रतिशत हुने संशोधित अनुमान छ।

चालूतर्फ १० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख अर्थात् विनियोजनको ८८ दशमलव २४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख अर्थात् विनियोजनको ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख अर्थात् विनियोजनको ८७ दशमलव ३९ प्रतिशत खर्च हुने अनुमान छ ।

चालू वर्षको अन्त्यसम्ममा सरकारको स्रोतबाट राजस्व १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख र वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान छ। यसअघि चालू आर्थिक वर्षका लागि राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रहने अनुमान गरिएको थियो।

त्यस्तै २ खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋण तथा २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने र ४९ अर्ब ९४ करोड वैदेशिक अनुदानबाट स्रोत व्यहोर्ने अनुमान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्