त्रिविका उपकुलपति र रेक्टर दिनभर पाटन क्याम्पसमा

क्याम्पस प्रमुखलाई प्रवेश निषेध गर्नु अनुचित



ललितपुर ।

पाटन संयुक्त क्याम्पसमा क्याम्पस प्रमुख लक्ष्मणसिंह कुँवरलाई प्रवेश निषेध गरेपछि बढेको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल र रेक्टर प्राडा खड्ग केसी अचानक पाटन क्याम्पस पुग्नुभएको छ। क्याम्पस प्रवेश गरेपछि उपकुलपति बराल र रेक्टर केसीले समस्याको बारेमा विद्यार्थीसँग जानकारी लिनुभएको थियो।

तालाबन्दीप्रति असन्तुष्ट दुई पदाधिकारीले क्याम्पस प्रमुखलाई प्रवेश निषेध गर्नु उचित नभएको बताउनुभएको थियो। क्याम्पसको विभिन्न विभाग अनुगमन गरेका दुई पदाधिकारीले क्याम्पसको दुरवस्थाप्रति खेद प्रकट गरेका थिए। विभाग भ्रमण गरेपछि चिन्तित हुँदै उपकुलपति प्राडा बरालले भन्नुभयो– ‘भ्यालीको यति ठूलो क्याम्पस यस्तो हालत होला भन्ने सोचेको थिइनँ। यो त सामुदायिक क्याम्पसभन्दा पनि खराब देखियो ।’ उहाँले यस विषयमा गम्भीर हुन सबैलाई आग्रह गर्नुभएको थियो ।

उपकुलपति बरालको भनाइ सकिन नपाउँदै विद्यार्थीले भने– ‘क्याम्पस प्रशासनको अनुचित व्यवस्थापनको कारण क्याम्पस प्रमुखलाई प्रवेश निषेध गरेका हौं ।’ उनीहरूले क्याम्पस प्रशासनको कारण क्याम्पसको अवस्था यो हालतमा आएको आरोप लगाएका थिए।

विद्यार्थीलाई प्रतिप्रश्न गर्दै उपकुलपति प्राडा बरालले एकपटक भर्ना गरेपछि नियमित क्याम्पसमा आएर दुःख दिने गरे वा नगरेको, रेगुलर विद्यार्थीबाहेक पुराना विद्यार्थी नेताले दुःख दिने गरेको सुनेको छु भन्नुभयो । धेरै कलेजमा त्यस्तो रोग देखिएको छ, आधिकारिक विद्यार्थीबाहेक अन्य क्याम्पसका विद्यार्थी आएर डिस्टर्ब गर्ने गरेको कुरा सुनेको छु नि भन्दा विद्यार्थी संगठनका नेताले प्रश्न उठ्न नपाउँदै त्यस्ता विद्यार्थी नभएको बताएका थिए । उनीहरूले क्याम्पस प्रशासनकै कारण समस्या बढेको आरोप लगाएका थिए ।

रेक्टर प्राडा केसीले स्ववियु सभापति सुशील विष्टलाई विद्यार्थीको मतबाट जितेर आउनुभएको हो । युवा हुनुहुन्छ तपाईंले सबै विषयमा तत्काल समस्या समाधान गर्न पहल गर्र्नुहोस् भन्नुभयो । उहाँले भन्नुभयो– ‘कसैले गल्ती गरे कानुनअनुसार कारबाही गरौंला तर क्याम्पसमा देखिएको समस्या तपाईंले इनिसिएसन लिएर पूरा गर्न आग्रह गर्दछौं ।’ क्याम्पसमा धेरै समस्या रहेको औंल्याउँदै त्यस विषयमा बसेर छलफल गर्न तयार रहेको रेक्टर केसीले बताउनुभयो ।

दुई पदाधिकारी स्ववियु सभापति विष्ट, विज्ञान संकायका सहायक क्याम्पस प्रमुख उषा जोशी, मानविकी संकायका सहायक क्याम्पस प्रमुख शारदा लामिछानेलगायत विद्यार्थी नेताको उपस्थिति रहेको थियो । दुई पदाधिकारीले कक्षाकोठा, शौचालय, सीएसआईटी, भौतिक, रसायन शास्त्रको प्रयोगशाला, हालसम्म निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनीले ताला हस्तान्तरण नगरेको अर्थशास्त्रको भवन, विज्ञान भवन, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, टीटी हललगायत संरचनाको अवलोकन गरेका थिए ।

अधिकांश जीर्ण संरचनामा विद्यार्थी पठनपाठन गराइरहेको विषयमा उपकुलपतिले ध्यानाकर्षण गराउनुभएको थियो। उहाँले क्याम्पस प्रमुखमाथि भएको व्यवहारको विरोध गर्नुभएको थियो। उहाँले टेन्डर प्रक्रियाको बारेमा चासो दिनुभएको थियो । लबिम मलले हालसम्म भाडा नबुझाएको विषययमा चासो दिनुभएको थियो। स्ववियु सभापति विष्ट र अन्य विद्यार्थी नेताले क्याम्पस प्रमुख र प्रशासनको कारण समस्या बढेको गुनासो राखेका थिए। उनीहरूले करिब १२ हजार विद्यार्थी पढ्ने क्याम्पसमा खानेपानी, ल्याबमा कम्प्युटर नहुनु दुःखको विषय भएको गुनासो गरेका थिए।

तीन विद्यार्थी संगठनले कम्प्युटर ल्याब खरिद, खानेपानी र क्यान्टिनको विषयलाई लिएर तालाबन्दी गरेका थिए। शनिबार ताला खोले पनि क्याम्पस प्रमुख निषेध गरेको ब्यानर हटाएका छैनन्। दुई पदाधिकारीले माग पूरा गराउन मूल गेटमा ब्यानर राखेर क्याम्पस प्रमुख निषेध गराउनु गलत हो। विद्यार्थीको क्याम्पस प्रमुखसँगको आन्तरिक किचलोको कारण समस्या बढेको हो । ३५ दिनसम्म समाधान हुन नसकेपछि दुई पदाधिकारीले दिनभर क्याम्पस र नजिकै रहेको ढोकैमा क्याफेमा समय बिताए।

दुई पदाधिकारीले क्याम्पस प्रमुख लक्ष्मणसिंह कुँवरलाई क्याम्पसभित्र देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभयो। क्याम्पस प्रमुख कुँवरले पटकपटक वार्ता गर्दासमेत समस्या समाधान नभएको बताउनुभयो।

विद्यार्थी संगठनले केही सक्कली र अधिकांश नक्कली माग राखेर क्याम्पस प्रमुखमाथि अनुचित दबाब दिन थालेको आरोप लागेको छ। स्रोतका अनुसार केही विद्यार्थीका आफन्तलाई विभिन्न पदमा जागिर खुवाउन र केही विद्यार्थी नेता आफैंले करारमा जागिर खान दबाब दिने भित्री उद्देश्यले आन्दोलन गरेको बुझिएको छ। विद्यार्थीले माग राखेको केही दिनअघि प्रशासनले १ सय १० कम्प्युटर खरिद गर्न ई–बिडिङ गरी खरिद प्रक्रिया अघि बढाइसकेको छ।

खानेपानीको विषयमा केयूकेएलको सहयोगमा युरोगार्ड खरिद गरी जडान गर्ने काम भइसकेको छ। तर, आन्दोलनरत विद्यार्थी संगठनले सो माग आफूहरूको रोहेको बताउँदै साइन्स भवनमा रहेको युरोगाडसहितको खानेपानी व्यवस्थपन गर्दा तीन संगठनको नाम उल्लेख गरेका छन्।

३१ विभाग, १२ स्नातकोत्तर तह अध्यापन हुने सो क्याम्पस देखिएको गम्भीर समस्या समाधान गर्ने विषयमा त्रिविका पदाधिकारीले क्याम्पस प्रमुख र स्ववियु र विद्यार्थी संघ संगठनलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्