चराहरू पनि ‘मनोचिकित्सक’ नै हुन्



काठमाडौं ।

बिहान ओछ्यानबाट उठ्दै गर्दा मनलाई भित्रैदेखि तरङ्गित पार्ने चराहरूको सङ्गीतमय झङ्कारबाट तपाईं कहिल्यै आनन्दित हुनुभएको छ ? घरको झ्याल र बरण्डाबाट बाहिर हेर्दा वा प्रातः भ्रमणमा निस्किँदा देखिने चराचुरुङ्गीको मनोरम दृश्य र मिठासपूर्ण आवाजले मनभित्र तरङ्हरू फैलिएकोे, मन प्रफुल्ल भएको कहिल्यै याद गर्नुभएको छैन भने तपाईं प्रकृतिको यो अद्भूत उपहारबाट वञ्चित भइरहनुभएको छ।

दैनिक जीवनमा सँगसँगै रहेका यी सुन्दर चराहरूको दृश्य र सङ्गीतमय झङ्कार जब तपाईंबीच हुँदैन त्यस दिन तपाईंलाई खल्लो, निरासापन अनि केही नपुगिरहेको जस्तो अनुभूति हुनेछ।

‘मुडलाई सन्तुलित गर्न, डिप्रेसन र एन्जाइटीलाई सामान्यीकरण गर्न चराहरूको संगीत लाभदायक छ । धेरै होइन दैनिक छ मिनेट जति तर सक्रियतापूर्वक यस्तो आवाज सुन्नुहोस् यसले आश्चर्यजनक फाइदा दिन्छ।’

तपाईंलाई भर्खरै बोल्न सिकेका सानासाना छोराछोरी वा नातीनातिनाले तोते बोलीमा अनेक प्रश्न गर्दै ट्याउँ ट्याँउ बोलिरहदा कहिलेकाहीँ झर्को लाग्न सक्छ, तर जब एकदुई दिनको लागि ऊ तपाईंबाट टाढा भयो भने तपाईंले खल्लो, छटपटी, केही हराएर जस्तो र नियास्रोपनको महसुस गर्नुहुन्छ, उसको मिठासपूर्ण बोली सुन्न तपाईंलाई आतुर लाग्न सक्छ । हो, हाम्रो दैनिक जीवनमा वरिपरिका चराहरूको सङ्गीतमय आवाज र मनोहर दृश्यहरूको अभाव पनि त्यस्तै खालको हुन्छ ।

२०८१ सालको नयाँ वर्षको पहिलो दिन बिहान वरिष्ठ प्राकृतिक चिकित्सक डा. क्षितिज बराकोटीले लगनखेलस्थिति आफ्नो क्लिनिकमा पनि त्यस्तै खल्लो महसुस गर्नुभयो। उहाँले भन्नुभयो– ‘क्लिनिक नजिकैको खुला जमिनमा सल्ला, मसला र रुद्राक्षका धेरै रूखहरू थिए, त्यहाँ बसेर बिहानैदेखि चराहरूको आवाजले मनलाई झङ्कृत पाथ्र्यो तर हालै रूख काटिएपछि चराहरू पनि बसाईं सरे, हामीलगायत थुप्रै बिरामीहरूमा न्यास्रोपन महसुस भएको छ। वास्तवमा चराहरूको रमणीय दृश्य र आवाजले हाम्रो मन र शरीरलाई नजानिँदो गरी आनन्दित र सक्रिय बनाइरहेको हुन्छ, प्राकृतिक चिकित्सामा यसको धेरै ठूलो महत्व छ ।’

कोरोना संक्रमणपछि भएको लक डाउनका बेला धेरैले चराचुरुङ्गीहरूको दिनचर्या अवलोकन गरेर समय बिताएको कुरा चर्चामा आएको थियो। सन् २०२० मा नेचुरल हिस्ट्री म्युजियमले गरेको अध्ययनमा सहभागीमध्ये ७५ प्रतिशतले लकडाउनका बेला चराहरूले गाएको आवाजको रेकर्ड ठूलो पारेर सुन्ने गरेको र यसले उनीहरूलाई आनन्दित र शान्त रहन सहयोग पुगेको बताएका थिए।

चरा विषयमा विद्यावारिधि गर्नुभएका संरक्षणविद् हेमसागर बराल भन्नुहुन्छ– ‘चराहरूको रंगीचंगी शरीर र मिठासपूर्ण आवाजले हाम्रो मनोविज्ञानमा सकारात्मक प्रभाव पार्छ । जसरी बगैँचाका फूलहरूले हाम्रो मनलाई पनि आनन्दित पार्छ त्यसरी नै चराहरू र तिनका आवाजले पनि आनन्दित पार्छ। चराको आवाज र दृश्य दुवैले हाम्रो शरीरका हर्मोनहरूलाई सन्तुलित र मस्तिष्कलाई शान्त बनाउँछ । हाम्रो वरिपरि चराहरूका दृश्य पनि छैनन्, आवाज पनि छैन भने ठूलो शून्यता र निराशाको महसुस हुने डा. बरालको धारणा छ ।

दुई वर्षअघि डेंगुले सिकिस्त पारी बेहोस भएर अस्पताल भर्ना भई डिस्चार्ज भएपछि कसैसँग बोल्न, भेट्न, टेलिभिजन हेर्न मन लागेन, ‘त्यतिबेला मलाई चराहरूको सुमधुर स्वरले मन्त्रमुग्ध पार्‍यो। यस्तै, आवाजहरूको संकलन गराएर सुनिरँहदा पाएको आनन्दले नै शारीरिक र मानसिक ऊर्जा थपिएको म स्वयंले महसुस गरेको हुँ ।

एबीसी न्युजका कन्ट्रिब्युटर डा. डारियन भन्छन्, ‘मुडलाई सन्तुलित गर्न, डिप्रेसन र एन्जाइटीलाई सामान्यीकरण गर्न चराहरूको संगीत लाभदायक छ । धेरै होइन दैनिक छ मिनेट जति तर सक्रियतापूर्वक यस्तो आवाज सुन्नुहोस् यसले आश्चर्यजनक फाइदा दिन्छ।’

किङ्स कलेज अफ लन्डनले गरेको नयाँ अध्ययनअनुसार चरा हेर्नु र चराको आवाज सुन्नु मानसिक स्वास्थ्य सुधारका लागि धेरै नै लाभदायक छ। साइन्स डेलीका अनुसार आफ्नो घरवरिपरि रहेका चराहरू हेर्नु र आवाज सुन्नु मानसिक स्वास्थ्यका लागि धेरै राम्रो हो । बेलायतस्थित क्विन्सल्यान्ड युनिभर्सिटीले गरेको अध्ययनले आफ्नो घर वरिपरि, झाडी र रूखहरूमा देखिने चराहरूले डिप्रेसन, एन्जाइटी र तनाव कम गराउन मद्दत गर्ने निष्कर्ष निकालेको छ ।

यस्तै, रिचर्ड सिमले अनुसन्धान गरी द वासिङ्टन पोस्टमा प्रकाशित गरेको एक लेखअनुसार चराहरू मानिसलाई प्रकृतिसँग जोड्ने माध्यम हुन्, जसले मानिसको शारीरिक र मानसिक स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्छ । केही समयअघि प्रकाशित दुईवटा साइन्टिफिक अध्ययन प्रतिवेदनअनुसार चराहरूलाई हेर्नु र उनीहरूको संगीत सुन्नाले मानसिक स्वास्थ्यमा निकै सकारात्मक प्रभाव पार्नसक्छ। त्यसैले चराहरूलाई आफ्नो वासस्थानको वरिपरि बस्ने व्यवस्था गर्नु र उनीहरूलाई अवलोकन गर्नु र आवाज सुनेर आनन्द लिनु लाभदायक छ।

विगतमा भएका विभिन्न अध्ययनहरूमा पाइएअनुसार प्रकृतिसँगको बढी सामीप्यता शरीर र मस्तिष्कसँग छ भन्ने कुरा प्रमाणित भएको छ। मानिसका मनोव्यथा निराकरण गर्न चराहरू निकै राम्रा स्रोत भएको प्रमाणित भइसकेको छ। जो सहरमा बसेका छन् र चराहरूको दृश्य र आवाजहरूबाट बञ्चित छन्, उनीहरूको लागि त झन् यो चराहरूसँगको सामीप्यता अति आवश्यक छ। प्रत्यक्ष सुन्न देख्न नपाउनेहरूले रेकर्डिङ गरिएका चराका संगीत सुन्नाले पनि लाभ पाउन सक्छन्।

चराहरूको आवाज र दृश्यको प्रभाव सम्बन्धमा अहिलेसम्म भएका अध्ययनहरूले सकारात्मक सोच वृद्धि गर्ने, तनाव, चिन्ता र डिप्रेसन कम गर्ने, कुनै कुराको समस्यामा परिरहेका बेला यसबाट ध्यान हटाएर रमाइलोपन दिने, कुनै काम गर्न प्रोत्साहित गर्ने, मस्तिष्कको कार्यलाई आनन्दित बनाइदिने र मनभित्रका भावनाहरू फुकाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिदिने कुरा प्रकाशमा आएका छन्।

प्रतिक्रिया दिनुहोस्