हेटौंडा सिमेन्टलाई मागियो ६० करोड



हेटौंडा ।

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका समस्या र उद्योग सुसञ्चालनको वातावण बनाउन मकवानपुरका निर्वाचित जनप्रतिनिधिले सघीय सरकारसँग पहल गरेका छन्।

संघीय मन्त्रीहरुसँगको भेटका क्रममा उद्योग तत्काल सुसञ्चालनका लागि ६० करोड आवश्यक रहेको भन्दै ऋणमार्फत भए पनि रकम उपलब्ध गराइदिन माग गरिएको छ । संघीय सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्टलाई आवश्यक बजेट उपलब्ध नहुँदा उद्योग सुसञ्चालन र कर्मचारी तलबभत्ता नपाइ उद्योग बन्द भइरहेको अवस्थामा नेकपा एमालेबाट निर्वाचित वागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाईं मन्त्री एकालाल श्रेष्ठ र मकवानपुर–२ का सांसद् एवम् नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले उद्योग सुसञ्चालनका लागि सघीय सरकारका अर्थमन्त्रीसमक्ष पहल गरेका हुन् ।

शुक्रबार उद्योगका तर्फबाट समग्र ट्रेड युनियन नेपाल र नेपाल कारखाना श्रमिक संघका प्रतिनिधिसहित मन्त्री श्रेष्ठ र सांसद् बर्तौलाले अर्थमन्त्री वर्षमान पुन र उद्योग मन्त्री दामोदर भण्डारीलाई भेटी आवश्यक बजेट उपलब्ध गराइदिन आग्रह गरे ।

पछिल्लो केही वर्षयता उद्योग लगातार घाटामा सञ्चालन भइरहेको र यही अवस्थाले उद्योग सञ्चालन हुन नसक्ने बताउँदै उद्योग सञ्चालनको मोडालिटी परिवर्तन गर्नुपर्ने सुझाव दिइएको छ । बजेट अभावका कारण उद्योगका २८ जना अवकासप्राप्त कर्मचारीले २ वर्षदेखि प्राप्त गर्नुपर्ने सेवासुबिधा प्राप्त गर्न नसकेको र यस वर्ष पनि केही कर्मचारी अवकास पाउने क्रममा रहेकाले निकै समस्या झेलिरहेको नेपाल कारखाना श्रमिक संघ हेटौंडा सिमेन्ट उद्योग अध्यक्ष विशाल नेपालले बताए ।

छलफलमा हेटौंडा सिमेन्ट उद्योगका लागि आवश्यक बजेट उपलब्ध गराइ उद्योग सुसञ्चालनका लागि अर्थमन्त्री पुन र उद्योग मन्त्री भण्डारी सकारात्मक भएको र छिटै केही बजेट उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरेको छलफलमा सहभागी जिफन्ट वागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालले जानकारी दिए ।

छलफलका क्रममा अर्थमन्त्री पुनले उद्योगको विषयमा आफू गम्भीर भएको र उद्योग बन्द हुन नदिने बताएका छन् । २८ जना अवकासप्राप्त कर्मचारीको विषयलाई समेत सम्बोधन हुने गरी बजेट उपलब्ध गराइने प्रतिवद्धता व्यक्त भएको अर्यालले जानकारी दिए ।

२०३३ सालमा स्थापना भइ २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले स्थापनाकालमा नेपाल सरकारको जमानतमा एसियाली विकास बैंकबाट लिएको ऋण ७१ करोड ८८ लाख ८३ हजार २ सय ६८ मध्ये ५९ करोड ८८ लाख ८३ हजार २ सय ६८ र ब्याजतर्फ ७० करोड ३१ लाख १९ हजार ५ सय ४३ भुक्तानी भइ साँवाब्याजसहित १ अर्ब ३० करोड २० लाख २ हजार ८ सय ११ रुपियाँ भुक्तानी भइसकेको उद्योग प्रशासनले जनाएको छ ।

आव २०७९÷०८० को अन्त्यमा १२ करोड सा“वा र ३४ करोड ६९ लाख ३६ हजार ९ सय ८ रुपियाँ ब्याज भुक्तानी गर्न बाँकी देखिन्छ । लेखापरीक्षण प्रतिवेदनअनुसार स्थापनादेखि आव २०७८-०७९ सम्म उद्योग करिब ९० करोड घाटामा गएको उद्योग प्रशासनले जनाएको छ ।

उद्योगको वार्षिक ५२ लाख बोरा सिमेन्ट उत्पादन क्षमता रहेकोमा गत वर्ष ९ लाख बोरा सिमेन्ट विक्री भएको जनाइएको छ । चालु आर्थिक वर्षको हालसम्म लगभग ४ लाख बोरामात्र सिमेन्ट बिक्री भएको छ । जसका कारण उद्योग निरन्तर घाटामा रहेको कर्मचारीहरु बताउँछन् । विविध कारण चालु दायित्वहरु बढ्दै गएकोमा असोज मसान्तसम्म उद्योग करिब ७० करोड घाटामा पुग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्