त्रिविमा रेक्टर र रजिस्टार छान्न सकस, उपकुलपति बराल बिदामा



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति भएका प्राडा केशरजंग बरालले रेक्टर र रजिस्टार सिफारिस गरेपछि बिदामा बस्नुभएको छ।

आफ्नो दल निकटका व्यक्तिलाई नियुक्ति गर्नुपर्ने भन्दै सत्ताधारी मुख्य दलका प्राध्यापक संघ, संगठन र भ्रातृ संगठनका नेताहरूले दबाब दिन थालेपछि उपकुलपति प्राडा बराल बिदामा बस्नुभएको हो।

उहाँले रेक्टरमा खड्ग केसी र रजिस्टारमा केदार रिजालको नाम सिफारिस गर्नुभएको थियो । उपकुलपति बरालले दुई पद सिफारिस गरेलगत्तै सत्ता गठबन्धनबाटै विरोध भएपछि एकसाताका लागि बिदामा बस्नुभएको हो।

ढाडको समस्या आएका कारण सोमबारदेखि बिदामा बस्नुभएका भनिएका उपकुलपति बरालको भित्री रहस्य आफूले सिफारिस गरेका रेक्टर र राजिस्टारलाई नियुक्ति नगरेसम्म विश्वविद्यालय नफर्कर्ने तयारीमा रहनुभएको छ। सो विषयमा जानकारी लिन उपकुलपति बरालसँग सम्पर्क गर्दा मोबाइल उठाउनुभएन ।

उच्च स्रोतका अनुसार उहाँले आफूले सिफारिस गरेका दुवै जनालाई रेक्टर र रजिस्टारमा नियुक्ति गर्न कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिइरहनुभएको छ। कुलपति दाहालले सत्ता गठबन्धनको सहमतिमै पदाधिकारी नियुक्ति गर्ने तयारीमा रहनुभएको छ।

माओवादीको कोटाबाट उपकुलपति नियुक्त भएका बरालले राजनीति गर्ने प्राध्यापकलाई पदाधिकारीमा सिफारिस नगर्ने अडान हास्यास्पद भएको स्रोतको भनाइ छ। एक साताअघि सिफारिस भएका रेक्टर केसी र रजिस्टार बरालमध्ये केसी एमाले र बराल नेपाली कांग्रेस निकट भएको त्रिविका अधिकारीको भनाइ छ।

सिफारिस भएकामध्ये केसी अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख हुनुहन्छ भने रिजाल केन्द्रीय वातावरण विभागका प्राध्यापक र खुला विश्वविद्यालयका डीन हुनुहुन्छ। तर, दुवै जनालाई आफू निकटका प्राध्यापक संघ संगठनले विश्वास नगरेका कारण नियुक्ति हुने सम्भावना कम रहेको स्रोतको दाबी छ।

केसी केपी ओली सरकारको पालामा जापानको राजदूतमा सिफारिस हुनुभएको थियो । ओली सरकार ढलेसँगै उहाको राजदूत नियुक्ति रोकिएको थियो।

प्राध्यापक संघ र संगठनले उपकुलपतिको नियुक्तिप्रति आपत्ति जनाएका छन्। एमाले निकट प्राध्यापकले रेक्टरमा वेदराज केसी र नेपाली कांग्रेसले कुशुम शाक्यलाई रजिस्टारमा नियुक्ति गर्न दबाब दिएका छन् । तर, उपकुलपति बरालले आफूले गरेको सिफारिस स्वीकार नगरे राजीनामा दिने मुडमा रहनुभएको स्रोतको भनाइ छ ।

उपकुलपति बरालले निवेदन अध्ययन गरी लामो समयको अनुभवबाट सिफारिस गरेको दुई पदाधिकारी नियुक्ति गर्नुभएको थियो। उपकुलपति बरालले चैत ६ मा सूचना निकालेर एक साताभित्र रेक्टर र रजिस्टारका लागि प्राध्यापकहरूसँग बायोडाटा माग माग्नुभएको थियो ।

सत्ता साझेदार विद्यार्थी संगठन र नेविसंघले आफ्नो पार्टी निकटका प्राध्यापकलाई रेक्टर र रजिस्टारमा नियुक्ति गर्न दाबाब दिँदै पटकपटक उपकुलपतिसँग भेट गरेका थिए । विद्यार्थी र प्राध्यापकले हरेक दिनजसो दबाब दिँदै कार्यकक्ष घेराउ गर्न थालेपछि सरकारले उपकुलपति बराललाई पीएसओको व्यवस्था गरेको छ।

उपकुलपति नियुक्ति भएको करिब डेढ महिना बितिसक्दा पनि दुई पदाधिकारी नियुक्ति गर्न नसकेका बरालको कारण त्रिवि अस्तव्यस्त हुन थालेको छ।

उहाँ फागुन १० मा उपकुलपतिमा नियुक्ति हुनुभएको थियो । दुई पदाधिकारी रिक्त भएका कारण त्रिविमा बजेट तयारी ठप्प प्रायः भएको छ। कर्मचारीहरू तत्काल पदाधिकारी नियुक्ति गर्न माग गरेका छन् ।

त्रिविका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘नियुक्ति हुँदा सक्षम देखिएको थियो। दुई पदाधिकारी सिफारिस गर्न सल्लाह नगरेका कारण उहाँको कार्यक्षमतामाथि प्रश्न उठेको छ। डेढ महिना बितिसक्दा पनि उहाँले खासै काम गर्न सक्नुभएको छैन ।’ सबै विभाग, महाशाखासँग राम्ररी ब्रिफिङसमेत हुन नसकेको कर्मचारीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्