गृहका मन्त्री र सचिवको ध्यान अध्यागमन सुधारतर्फ

विदेशीलाई देखाउने ‘देशको मुहार’ मा आउला सुधार ?



काठमाडौं ।

नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल सुरक्षाका दृष्टिकोणले भरपर्दो मानिँदैन। सेवा प्रवाह प्रभावकारी बन्न नसक्दा विदेश जाने तथा विदेशबाट आउनेहरूले विमानस्थलमा नै सास्ती भोग्नुपर्ने अवस्था छ।

सुरक्षाको अवस्था कमजोर देखेरै होला कुनै बेला कुख्यात अन्तर्राष्ट्रिय लेडिकिलर अपराधी चाल्र्स शोभराजले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती छिराउन सक्छु भनेर अभिव्यक्तिसमेत दिएका थिए।

अझ विमानस्थलमा रहेका प्रहरी र अध्यागमन कर्मचारीबीच केही समयअघि त कुटाकुट पनि भएको थियो। यसले पनि विमानस्थल भद्रगोल अवस्थामा रहेको र सरकारी निकायबीच नै आपसी समन्वय नरहेको पुष्टि हुन्छ।

अन्तर्राष्ट्रिय विमानस्थललाई सामान्यतया राष्ट्रको मुहारको रूपमा हेर्ने गरिन्छ। कुनै पनि विदेशी नेपालमा आउँदा नेपाल र नेपाली के कस्ता छन् भनेर थाहा पाउन त्यहाँ खटिएका राष्ट्रसेवक कर्मचारीको व्यवहार, आचरण र चालचलन हेर्ने गरिन्छ। त्यसैले पनि विमानस्थलाई राष्ट्रको मुहारको रूपमा चित्रण गर्ने गरिएको पाइन्छ।

विमानस्थलमा महत्वपूर्ण भूमिकामा रहने तथा समग्र अध्यागमन सुधारका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र गृहसचिव एकनारायण अर्यालले पहलकदमी लिनुभएको छ। गृहमन्त्री लामिछाने र सचिव अर्यालय मंगलबार अध्यागमन विभागमा पुगेर अध्यागमन सुधारको बृहत् योजना बनाएर अघि बढ्न मातहतका प्रमुख र कर्मचारीलाई निर्देशनसमेत दिनुभएको छ।

उहाँहरूले अध्यागमन सुधार आफूहरूको पहिलो प्राथमिक क्षेत्र रहेकाले सोहीअनुसार अघि बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो। गृहमन्त्री लामिछानेले अध्यागमनमा खटिएका कर्मचारीले विमानस्थमा आउने जाने सबै यात्रुलाई हार्दिकतापूर्ण व्यवहार गर्न र कुनै प्रकारको सास्ती नदिनसमेत सतर्क पार्नुभयो।

‘सहानुभूतिसहित सकारात्मक व्यवहार गरी अहिल्यैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह गर्दछु, राष्ट्रको मुहारलाई उज्यालो र गतिशील बनाउन सक्नुपर्छ’ –गृहमन्त्री लामिछानेले भन्नुभयो।

मन्त्री लामिछानेले विदेशीका लागि अध्यागमन देशको मुहार भएकाले मुहार नराम्रो हुँदा देशप्रति नै नकारात्मक धारणा बन्ने अवस्था आउन नदिन संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनुपर्ने र जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधन सम्पन्न बनाउन केही चुनौती भए पनि प्रयास जारी राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अध्यागमन सुधारलाई प्राथमिकता दिएका गृहसचिव अर्यालले अध्यागमनमा हुने मनसायजन्य गल्ती कुनै हालतमा पनि क्षम्य हुन नसक्ने बताउनुभयो। उहाँले अध्यागमनमा कुनै स्वार्थ र स्वार्थअनुसारको नेटवर्किङमा कुनै पनि काम हुन नहुनेमा जोड दिँदै त्यस्तो प्रवृत्तिको अब समूल अन्त्य हुने बताउनुभयो।

एक दुई जना कर्मचारीका कारण सिंगो अध्यागमन व्यवस्थापन नै बिग्रन सक्ने भन्दै सचिव अर्यालले गलत गर्नेलाई कारबाही गरिने चेतावनी दिनुभयो। अर्यालले विमानस्थलमा यात्रुहरूले दुःख, हैरानी व्यहोरिरहेको गुनासो सुन्न नपर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो।

अध्यागमनमा निजामती कर्मचारीले सहज र प्रभावकारी सेवा दिन सक्छ भनेर प्रमाणित गराउनुपर्ने चुनौती रहेकाले सो चुनौतीमा सफलता हासिल गर्नुपर्ने आवश्यकता अर्यालले औंल्याउनुभयो। ‘अध्यागमनलाई व्यवस्थित गर्न सकेन भने त्यहाँ अर्को निकाय इन्ट्री हुन सक्छ र यसै गरी गुनासो बढ्दै गयो भने सरकारले विकल्प खोज्न सक्छ, त्यसैले आजैदेखि केही फरक महसुस हुने गरी काम गरौं’ –सचिव अर्यालले भन्नुभयो ।

अध्यागमन देशको मुहार पनि भएकाले ८० हजारको साख राख्न पनि सुधारको विकल्प नै नरहेको सचिव अर्यालले स्पष्ट पार्नुभयो।

अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले विभागले विभिन्न समस्याका बाबजुद पनि प्रभावकारी काम गरिरहेको बताउँदै विभागको कामकारबाही, समस्या र चुनौतीका बारेमा जानकारी गराउनुभयो । उहाँले विभागले प्रविधिमा आधारित रहेर काम गर्ने भन्दै भावी योजनाहरू समेत पेस गर्नुभयो ।

विभागका भावी योजना

अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले विभागको भावी योजना पेस गर्दै यात्रु आगमन कक्षमा ईगेट निर्माण गरी सञ्चालनमा ल्याइने, अध्यागमन ऐन नियमावली, निर्देशिका, कार्यविधि, संशोधन गर्ने तथा अध्यागमन नीति निर्माण गरी कार्यान्वयनमा ल्याइने योजना बनाइएको जानकारी दिनुभयो ।

यसै गरी महानिर्देशक निरौलाका अनुसार विभागका भावी योजनाहरूमा विदेशी नागरिकहरूको अनुगमनको व्यवस्थापन गरी विस्तृत कार्यसञ्चालन पद्धति तयार गर्ने, कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने, विभाग र कार्यालयको संरचनागत सुदृढीकरण र संस्थागत विकास गर्ने तथा अध्यागमनालई अत्याधुनिक प्रविधि उपकरणका साथै दक्ष र यात्रुमैत्री व्यवहार गर्न सक्ने कर्मचारी परिचालन गरिने, सीमानाका अध्यागमन कार्यालयहरूको आधुनिकीकरण गर्ने, शंकास्पद रूपमा यात्रा गर्ने यात्रुलाई अध्यागमन प्रणालीको वाच लिस्टमा राखी नियमित तवरले निगरानी गर्ने व्यवस्था मिलाउनेलगायतका छन्।

प्रतिक्रिया दिनुहोस्