अझै एसईई हाउगुजी !



काठमाडौं ।

हिजो बच्चालाई डराउन दिनुपर्‍यो भने हाउगुजी आयो भन्ने गरिन्थ्यो । नदेखिने तर नाम सुन्दासाथ डराउने विम्ब थियो हाउगुजी। आज शिक्षाको संरचना बदलिएको छ। विगतमा माध्यमिक तहको अन्तिम कक्षा १० थियो भने अहिले १२ कक्षा माध्यमिक तहको अन्तिम कक्षामा रुपान्तरित भएको छ।

बालविकासदेखि कक्षा १२ सम्म विद्यालय शिक्षाको संरचना कार्यान्वयनमा आएको छ। यो संरचनाअनुसार विगतमा लिइँदै आएको माध्यमिक तहको अन्तिम परीक्षा एसएलसी हटिसकेको छ ।

तर पनि कक्षा १० मा अर्को परीक्षा साबिकको एसएलसीकै ढाँचामा एसईईका नाउँमा लिइँदै आइएको छ। उक्त परीक्षालाई जतिसुकै फलामे ढोका होइन भनिए पनि सरकारी प्रचारप्रसार, विद्यालयको आन्तरिक तामझाम र विद्यार्थी मनोविज्ञानका कारण फलामे ढोकाकै रुपमा खडा गरिएको छ। एउटा कक्षाको अन्तिम परीक्षालाई जसरी लिनुपर्ने हो त्यसरी नलिएकै कारण विद्यार्थी र अभिभावक दुुवैका लागि अनावश्यक बोझका रुपमा उक्त परीक्षा खडा भएको छ ।

तामझाम यो पनि 

शिक्षा मन्त्रालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यस वर्षको यही चैत १५ देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा देशभरका ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने बताएको छ। यसपटक देशभर २ हजार ६४ वटा केन्द्र रहने र प्रत्येक केन्द्रबाट २ सय ५० विद्यार्थीले परीक्षा दिने प्रारम्भिक तथ्यांक उक्त कार्यालयले सार्वजनिक गरिसकेको छ।

परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । एसईईका लागि शुरुमा भारत गएर प्रश्नपत्र छपाइ गर्ने प्रचलन थियो । तर आजकल भने उक्त काम शिक्षा मन्त्रालय मातहतकै जनक शिक्षा सामग्री केन्द्रले गर्ने गर्दछ।

एसईई परीक्षा सञ्चालनका लागि ७७ हजार ५ सय जनशक्ति परिचालन गरिने बताइएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक र कार्यालय सहयोगीसहित एउटा परीक्षा केन्द्रमा कम्तीमा पनि सबै गरी ४० जना जनशक्ति खटिने जनाइएको छ । सुरक्षा संवेदनशीलता भएका केन्द्रमा भने बढी जनशक्ति परिचालन हुने पनि जनाइएको छ । कार्यालयको यो प्रचारप्रसार र तामझाम विद्यार्थीका लागि मनोवैज्ञानिक हाउगुजी नै हो । एसईई केही होइन भन्दा पनि सवस्र्व नै एसईई हो भन्ने भाष्य सरकारी तामझामबाटै पुष्टि गराउन खोजिएको छ, जुन आवश्यक र स्वाभाविक छैन ।

मूल्यांकन पद्धति

एसईईको नतिजा विगत ८ वर्षदेखि अक्षरांकन पद्धतिमा प्रकाशत हुन थालेको छ । यसले गर्दा पहिले–पहिलेजस्तो र्बोड फस्ट, टपटेनका लागि विद्यालयबीच होडबाजी र अनावश्यक लबिङमा कमी आएको छ । यो पद्धतिबाट मूल्यांकन गर्दा निर्माणात्मक मूल्यांकन गर्न खोजेको देखिए पनि ४ जीपीएका लागि विद्यालयको प्रतिस्पर्धा चली नै रहेको छ । जति बढी ४ जीपीए त्यति नै बढी राम्रो स्कुल भन्ने भाष्य यसबीचमा खडा गर्न खोजिएको छ । यस पद्धतिबाट नतिजा प्रकाशन हुन थालेपछि २०७३ सालमा ४ जना, २०७४ मा ७४ जना, २०७५ मा १०६ जनाले ४ जीपीए ल्याएका थिए । कोरोना काल (२०७६) मा भने आन्तरिक परीक्षाका आधारमा ९३१९ जना र २०७७ मा ८ हजारभन्दा बढीले ४ जीपीए ल्याएका थिए । त्यसपछि भने उक्त जीपीए ल्याउनेको संख्या ह्वात्तै घटेको छ ।

परीक्षाफल र व्यवहार

कुनै पनि परीक्षाको परिणाम र त्यसपछिको व्यवहारबीच तालमेल नै छैन । तालमेल हुँदो हो त एसएलसीमा नेपाल प्रथम भएका गरिमा राणाहरु आज यो देशका सय–पचास जनाभित्र दर्ज हुन्थे । एउटा विधा समातेर त्यसैबाट आफूलाई उत्कृष्ट साबित गराउँथे । तर घोकन्ते विद्या, सिकेको कुरालाई ३ घण्टामा ओकल्नुपर्ने बाध्यता, परीक्षाको दिन बिरामी वा अन्य कारणले अनुपस्थित हुन नपाइने प्राविधिक बाध्यताका कारण जतिसुकै मेधावी विद्यार्थी भए पनि असफल परिणाम हात लाग्छ । यसै कारण शिक्षामा गुणस्तर र व्यावहारिक परिवर्तन दुवै देखिँदैन । पढ्यो, घोक्यो, पास ग¥यो सकियो । जति धेरै अंक त्यति धेरै गुणस्तर– यो नै सम्प्रति शैक्षिक उपलब्धिको सूचक बनेको छ ।

विकल्प साचौं 

धेरै भयो परीक्षा लिन थालेको । वर्षदिन पढेको कुरालाई तीन घण्टामा ओकल्न सके उसको सिकाइ पूरा हुने नत्र नहुने परीक्षा पद्धति नै घातक छ । यसले घोक्नमा जोड दिन्छ, सिक्नमा होइन । जापानमा मन, वचन र कर्मले अरुलाई चोट नपु¥याऊँ भन्ने कुरा त्यहाँका केटाकेटीलाई सानैबाट सिकाइन्छ र व्यवहार अवलोकन गरिन्छ । हामीकहाँ ‘बाबुलाई सम्मान गर्नुपर्छ’ भनेर पढाइन्छ । परीक्षामा ‘बाबुलाइ के गर्नुपर्छ’ भनेर सोधिन्छ, दिनहुँ त्यही बाबुसँग झगडा गरेर विद्यालय आए पनि उत्तरमा ‘सम्मान गर्नुपर्छ’ लेख्यो भने ऊ पास हुन्छ । यस्तो परीक्षा प्रणाली हामीले कति दिन जारी राख्ने ? यस्तो परीक्षामा रुप छ तर सार छैन । सार नभएको परीक्षामा हामी कति दिन अड्किने ? अब पनि परीक्षाको विकल्प नसोचे कहिले सोच्ने ?

चीनमा एउटा उखान छ– मलाई एक किलो माछा उपहार होइन माछा मार्नका लागि सीप देऊ, ताकि म आफैँले मन लागेको बेला माछा मारेर खान सकूँ। तर आजकल हाम्रो पठनपाठनमा सैद्धान्तिक कुरा मात्र छ, सीप छैन । व्यावहारिक पक्ष उपेक्षित नै छ । कोरा ज्ञान, घोकन्ते विद्यामा नै हाम्रो शैक्षिक प्रणाली आजसम्म चलिरहेको छ । के सिक्यो हैन, कति अंक ल्यायो भन्ने नतिजाको पर्खाइमा रहेका अभिभावकलाई सन्तुष्ट पार्नेबाहेक गरिखाने शिक्षा पटक्कै दिन सकिएको छैन । यो आजको विडम्बना नै हो । कोरा किताबी ज्ञानले आज कसैको पनि गुजारा हुने अवस्था छैन । गर्जो टार्न नसक्ने शिक्षा, शिक्षा नै होइन ।

व्यवहारमा परिवर्तन खै ?

शिक्षा आर्जन गर्नु भनेको घोक्नु मात्र होइन, सिकाइ हुनुु पनि हो । सिकाइ हुनु भनेको व्यवहारमा आएको स्थायी सकारात्मक परिवर्तन हो । यो परिवर्तन मापनीय हुनुपर्छ र यसका लागि व्यावहारिक शिक्षा नै चाहिन्छ । अमेरिका, युरोप, जापान, चीनलगायतका मुलकहरूको उन्नति र प्रगति व्यावहारिक शिक्षाको विकासको कारणले गर्दा नै भएको हो । शिक्षाले व्यक्तिलाई सत्य कुराको ज्ञान प्रदान गरेर मात्र पुुग्दैन, कुनै पनि काम गर्न सक्ने सीप अर्थात् खूबी प्रदान गर्न सक्नुपर्छ । हामीकहाँ विद्यालय शिक्षाको सन्दर्भमा होस् वा विश्वविद्यालयको सन्दर्भमा, संख्यात्मक हिसाबमा शिक्षाको विकास धेरै नै भएको छ । तर गुणस्तरको पाटो कमजोर छ । पढेर देश नै छोडनुपर्ने शिक्षाको कुनै दरकार हुँदैन । शिक्षाले त देशमा टिकाउन सक्नुपर्छ । बजारमा बिकाउन सक्नुुपर्छ । तर जति पढ्यो त्यति बेरोजगार हुने शिक्षा राष्ट्रका पक्षमा हुनै सक्दैन ।

सिक्नै पर्ने कुरा 

मेरो छोराले के सिकोस् भन्ने सवाल गर्दै अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई यस्तो पत्र लेखेछन्– ‘मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन् । स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान् नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् र मित्र पनि छन् । उसलाई सित्तैमा पाएको हजारौँ डलरभन्दा परिश्रम गरी कमाएको एक डलर बढी मूल्यवान् हुन्छ भन्ने कुरा बताइदिनुहोस् भनेका छन् ।’

लिंकन अगाडि लेख्छन्– ‘मेरो छोरो जतातिर हुल छ त्यतातिर लाग्ने प्रवृत्तिको नहोस् । उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झार्न लाजमर्दो कुरो होइन भनिदिनुहोस् । ऊ आफ्नो बाहुबल, बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । सम्झनुहोस्, आगोको लप्काबाट नै फलाम खारिन्छ । ऊभित्र साहस र सधैँ केही गरौँ भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयम् निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ ।’
मानवता हराउँदै गएको, पढेर पनि अनपढ व्यवहार गर्ने वर्तमान युवापुस्ताका लागि लिंकनको उक्त सन्देश निकै मार्मिक र आजका सन्दर्भमा उपयुक्त पनि देखिन्छ । आजको पठनपाठनले न सीप दिएको छ, न व्यवहार । तसर्थ व्यावहारिक पक्षमा लिंकनको उक्त आकांक्षाले आम नेपाली अभिभावकको प्रतिनिधित्व गर्दछ । हामीले खोजेको एकथरी शिक्षा यस्तै पनि हो ।

आज पनि हाम्रो शिक्षा पद्धति घोकन्ते छ, सैद्धान्तिक छ । हाम्रा बालबालिकाको चाहना र हाम्रो शिक्षा पद्धतिबीच सामीप्यता छँदै छैन । राम शाह मरेको इतिहास घोकेर आजका विद्यार्थीले के पाउने ? प्रजातन्त्र आएको कुरा २००७ साल फागुन ७ गतेको सट्टा कसैले फागुन ६ वा ८ गते भन्यो भने के नै बिग्रला ? बढीमा यस्तो सामान्य कुरा पनि जानेन भनिएला, कुरा यत्ति हो । यो जान्नुु र नजान्नुसँग बच्चाको दैनिकी गुजारामा तात्विक अन्तर आउँदैन । बरु आजका विद्यार्थीले प्रजातन्त्र आएको कुरा, तिथि, बार र समय घोकेर भन्दा गुुुुगलमा सर्च गरेर पत्ता लगाउन चाहन्छन् ।

आज उनीहरुलाई गुुुुगल हेरेर यो चाहना पूरा गरिदिने शिक्षा चाहिएको छ । आजका बच्चाहरुलाई तयारी हालतको भन्दा सिर्जनशील बनाउने शिक्षा चाहिएको छ। कति पढ्ने भन्दा पनि के पढ्ने भन्ने सवाल नै आजको शिक्षाको मुख्य मुद्दा हो । यसका लागि विद्यार्थीलाई विद्यालय जाऊँ–जाऊँ लाग्नुपर्छ । करले होइन, रहरले विद्यालय जाने वातावरण बनाउनुपर्छ र यसका लागि उसको रुचि, इच्छा र चाहनाअनुसारको विषय पढ्न पाउनुपर्छ । स्वस्फुर्त सिकाइ वातावरण हुनुपर्छ ।

प्रजातन्त्रको उदयताका २००७ सालमा हामीसँग २ प्रतिशत साक्षरता दर थियो । आज संघीय गणतान्त्रिक व्यवस्थाको अभ्यासमा जुट्दै गर्दा यो दर बढेर ७० प्रतिशतभन्दा माथि पुुगेको सरकारको दाबी छ । यो सन्तोषको विषय हो । तर पढेका जनशक्तिमध्ये कतिजना रोजगारीमा लागे भन्ने कुरा पनि महत्वपूर्ण हो । बजारमा बिकाउ नहुने र ज्ञानमा टिकाउ नहुने शिक्षा प्रदान गरेर बर्सेनि बेरोजगार उत्पादन गर्ने शिक्षा कुन हदसम्म जारी राख्ने भन्ने कुरा आजको मुख्य समस्या हो ।

यसै कारण व्यावसयिक शिक्षा आजको मुख्य आवश्यकता थियो । तर हामीले विगतमा भएको पूर्वव्यावसायिक विषयलाई पनि पाठ्यक्रमबाट हटायौं । भएको अलिकति सीप सिक्ने प्रयोगात्मक पक्ष पनि हटायौं । विगतमा कक्षा ८ बाट ऐच्छिक विषयका रुपमा बागबानी लिन सकिन्थ्यो । त्यो अवसर पनि आजका विद्यार्थीलाई दिएनौं । जसले गर्दा गरिखाने शिक्षाको अभावमा प्रमाणपत्रहरु खोटोमर हुन थाले । दराजभरि प्रमाणपत्रहरु थन्किएका छन् तर ती प्रमाणपत्रहरुको बजार भाउ शून्य छ । आजको मूल समस्या नै यही हो ।

आजको आवश्यकता भनेको प्राविधिक शिक्षा हो । ९–१२ कक्षाको प्राविधिक धारले मात्र यो आवश्यकता पूरा गर्न सक्दैन । आधारभूत ज्ञान कक्षा ८ सम्म दिइए पनि कक्षा ९ बाट पूरै श्रम र सीपमा आधारित प्राविधिक शिक्षा नै दिनुपर्छ।

कलेजस्तरमा प्रदान गरिने सैद्धान्तिक ज्ञानलाई पूरै भत्काएर प्रविधिमा आधारित शिक्षा प्रदान गर्न जरुरी छ। तर आज पनि हाम्रा अधिकांश विश्वविद्यालयहरु सामान्य धारकै शिक्षा दिन रुचाउँछन्। यो अर्को विडम्बना हो।

यही अवस्था रहेसम्म एसईई मात्र होइन, सबै परीक्षा डर र त्रासका बीच सम्पन्न हुनेछन् र परीक्षाफलका आधारमा व्यक्तिको व्यवहारमा पटक्कै परिवर्तन आउनेछैन ।

प्रतिक्रिया दिनुहोस्