महालक्ष्मीको  चांगाथलीमा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण सुरु



काठमाडौँ

 महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित पञ्चकन्या मन्दिर  परिसरमा रहेको ८ आना क्षेत्रफल जग्गामा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण सुरु गरिएको छ ।

बागमती प्रदेशको विशेष बजेटबाट प्राप्त एक करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको तीन तल्ले सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले शनिबार विहान संयुक्तरुपमा शिलान्यास गरे ।

‘बर्थिङ्ग सेन्टर’को रुपमा समेत विकास गरी  दैनिक बहिरङ्ग र प्रयोगशाला सेवा उपलब्ध गराउने गरी  स्वास्थ्य चौकी निर्माण गर्न लागिएको सो वडाका वडाध्यक्ष बाबुराजा महर्जनले बताए ।


वडाध्यक्ष महर्जनका अनुसार नपुग रकम थपेर आगामी आर्थिक वर्ष २०८१-०८२ सम्म निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्ने गरी निर्माण व्यवसायीलाई निर्माणको ठेक्का दिईएको हो ।

‘भवन निर्माण सम्पन्न भएपछि नयाँ भवनबाट एमबिबिएस डाक्टरको दरबन्दी व्यवस्था गरी वडावासीलाई सुविधा सम्पन्न स्वास्थ्य सेवा दिइने वडाको योजना छ’—वडाध्यक्ष महर्जनले भने ।

वडा कार्यालयले हाल सो वडाको चांगाथलीस्थित चाँदनीचोकमा रहेको अस्थायी स्वास्थ्य चौकीबाट वडावासीलाई दैनिक बहिरङ्ग स्वास्थ्य उपचार सेवा दिँदै आएको छ ।

जटिल खालका र आकस्मिक सेवाको लागि भने सो नगरपालिका क्षेत्रमा रहेको किस्ट मेडिकल कलेज र पाटन अस्पतालमा बिरामी जाने गरेको छन् ।

स्वास्थ्य चौकी भवन शिलान्यास समारोहमा महालक्ष्मी नगरपालिका वडा नं १ का वडाध्यक्ष छिरीङ्ग  लामा, वडा नं ५ का वडाध्यक्ष कपिल केसी र वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटी, नगरपालिकाको शिक्षा शाखा प्रमुख चिरञ्जीवि पौडेल तथा वडाको स्वास्थ्य चौकीका प्रमुख अजय केशरी लगायत स्थानीय जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्