जनकपुरमा २ सय शय्याको क्यान्सर अस्पताल बन्ने



काठमाडौं ।

विनयतारा फाउन्डेसनले यही वर्षदेखि नेपालको जनकपुरमा २ सय शय्याको क्यान्सर अस्पताल निर्माण प्रक्रिया थाल्ने भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरी फाउन्डेसनले उक्त जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डा. विनय शाह, बोर्ड सदस्य डा. डेभिड एबुलाफिया र विनयतारा फाउन्डेसन नेपाल ट्रस्टका अध्यक्ष डा. वाईपी सिंहले अस्पताल निर्माणका लागि अनुमति लिने कार्य, भवन निर्माणको लागि आवश्यक जग्गा र सुरुआती लगानीको जोहो भइसकेको जानकारी दिनुभयो।

हाल मधेस प्रदेशको जनकपुरस्थित कपिलेश्वर रोडमा सञ्चालित २५ शय्याको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टरलाई नै २ सय श्ययाको सबै प्रकारका क्यान्सरको उपचार केन्द्रका रूपमा विस्तार गर्न लागिएको हो ।

सन् २००३ उच्च शिक्षा हासिल गर्नका लागि अमेरिका पुगेका डा. शाहले अमेरिकालाई भौतिक उपस्थितिको थलो मात्रै बनाएको तर मनले भने आफू हरेक क्षण नेपालमा रहेको बताउँदै भन्नुभयो– ‘मनलाई देशको माटोबाट अलग हुन नदिन उनले आफ्नो करियरको सुरुआतमै बिनयतारा फाउन्डेसन खोलेका हौँ । म आज जे छु, त्यो नेपालले बनाएको हो। यहीँको सरकारी स्कुलमा पढेँ। सरकारी कोटामै एमबीबीएस गरेँ। अब यही देशको क्यान्सर उपचार केन्द्रमा केही गर्न चाहन्छु।’ उहाँले नेपालमा विश्वस्तरीय क्यान्सर उपचार केन्द्र बनाउने आफ्नो सपना रहेको बताउनुभयो।

पत्रकार सम्मेलनमा नेपालका साथै भारतको विहारलाई समेत लक्षित गरेर मधेस प्रदेशको जनकपुरमा क्यान्सर उपचार केन्द्र बनाउने तयारी शुरू भएको जानकारी दिइयो।

कार्यक्रममा अमेरिकाको युनिभर्सिटी अफ वासिंगटनमा क्यान्सर विषयमा प्राध्यापक डा. डेभिड एबुलाफियाको समेत उपस्थित थियो । फाउन्डेसनको बोर्ड सदस्यसमेत रहेका डा. एबुलाफियाले डा. शाहको अवधारणाले आफूलाई प्रभावित बनाएको जिकिर गर्दै भन्नुभयो– ‘पहिले त मलाई त्यति रुचि थिएन । जब नेपाल आएर अवस्था हेरेँ । मैले केही न केही योगदान गर्नैपर्छ भन्ने महसुस भयो ।’ उहाँ अस्पताल निर्माणकै प्रक्रियाको थालनी गर्न नेपाल आउनुभएको हो ।

वरिष्ठ क्यान्सर सर्जन तथा विनयतारा ट्रस्ट नेपालका अध्यक्ष डा. वाईपी सिंहले नेपालमा विश्वस्तरीय उपचार सेवा दिने अस्पताल निर्माण गर्न क्रम अघि बढिसकेको र त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति समेत दिइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘नेपालमा राम्रो क्यान्सर उपचार हुने सेन्टर जरुरी छ। त्यसैले हामी यतातिर लागेका हौं ।’ उहाँले समाजका लागि केही न केही योगदान गरेर छाड्ने डा. शाहको सोचबाट प्रभावित भएर आफू पनि जोडिएको बताउनुभयो ।

फाउन्डेसनले यसअघि काठमाडौंको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माणमा सहयोग गरेको थियो । त्यहाँका चिकित्सक तथा नर्सलाई अमेरिकामा तालिम दिनका लागि समन्वय र केही आर्थिक सहयोग गरेको डा. शाहले बताउनुभयो। अस्पतालले वर्षेनी कम्तीमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्य लिएको छ।

सन् २०१८ देखि जनकपुरमा शुरू भएको २५ श्ययाको अस्पतालमा किमोथेरापी, सर्जरी, आइसीयू र ल्याबको व्यवस्था छ । जनकपुरकै पहिलोपल्ट हिस्टोप्याथोलोजी ल्याबसमेत उक्त सेन्टरमा खुलेको छ।

उक्त अस्पतालमा हरेक आइतबार ‘नेपाल–यूएसए ट्युमर बोर्ड’ हुन्छ। क्यान्सरको बिरामी उक्त अस्पतालमा आएमा नेपालका चिकित्सकहरूसँग अमेरिकाका विशेषज्ञले भर्चुअल माध्यमबाट छलफल गर्छन्। नेपाली चिकित्सकलाई उपचारका लागि सहजीकरण गर्ने काम अमेरिकाका चिकित्सकहरूले गर्छन्। जसले गर्दा विश्वले उपचारका लागि पत्ता लगाएको नयाँ ज्ञान र प्रयोगमा आएको सीप यहाँका बिरामीको उपचारमा प्रयोग हुन्छ।

प्रविधिको उपयोगमा पनि उक्त अस्पताल नमूना बनाउने फाउन्डेसनको लक्ष्य छ। उक्त सेन्टरमा अहिले अमेरिकाकै टेक्सासमा बस्ने नेपाली मुलका डाक्टर डा. सुबोध मलिकको नेतृत्वमा इलेक्ट्रोनिक मेडिकल रेकर्डिङको अभ्यास पनि भइरहेको छ। ४ बिघा जग्गामा बन्ने २ सय बेडको अस्पताललाई शतप्रतिशत कागजविहीन बनाउने पनि फाउन्डेसनको योजना छ । जसको थालनी अहिलेदेखि नै भएको बताइएको छ।

फाउन्डेसनले हरेक वर्ष विश्वका नाम चलेका चिकित्सकलाई जनकपुरमा ल्याएर ‘क्यान्सर कंग्रेस’ गर्ने गरेको छ। यसवर्ष मार्च १६ का लागि तय गरिएको छ। फाउन्डेसन अमेरिकामा क्यान्सर कन्फ्रेन्स र सीएमई कार्यक्रम गर्ने ठूलो संस्थामध्ये एक हो । कन्फ्रेन्स, सीएमई र सहयोगी दाताबाट प्राप्त रकमलाई कोष बनाएर नेपाल तथा दक्षिण एसियाको क्यान्सर क्षेत्रमा काम गरिरहेको हो ।

फाउन्डेसन अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था हो। जसले अमेरिकामा क्यान्सरसँग सम्बन्धित सीएमई र कन्फ्रेन्स, नेपालका साथै दक्षिण एसियामा क्यान्सर उपचार र सचेतनाका क्षेत्रमा काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्