मेडिसिटी अस्पतालमा एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण



काठमाडौँ।

नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको एकवर्ष पूरा भएको र सो अवधिमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिएको हो। । मिर्गौला दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मिर्गौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन्।

नेपाल मेडिसिटी अस्पतालले २०७९ माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो। अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मिर्गौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख डा प्रकाश पौडेलले बताए।

‘२३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मिर्गौला बिग्रेर उपचारका लागि आएका थिए’, डा पौडेलले भने, ‘अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढी भएर लिकेज हुन थालेपछि मिर्गौला बिग्रेर जान्छ।’

पछिल्लो समय खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि गएका व्यक्तिहरुको मिर्गौलामा समस्या देखिएको डा पौडेलले बताए। ५ जना मिर्गौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागि आएको उनले जानकारी दिए।

अत्याधिक गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएकाहरुमा मिर्गौलाको समस्या बढेको उनको अनुमान छ।

‘वैदेशिक रोजगारीमा जानेहरुको मेडिकल स्क्रिनिङमै पनि समस्या छ, त्यहाँको वातावरणले पनि थप प्रभाव पर्छ र १० महिनामै मिर्गौलामा समस्या आएर स्वदेश फर्किएकाहरु पनि छन्,’ डा पौडेलले भने, ‘ खाडीमा पानी महंगो, कोक फेण्टा जस्ता पेय पदार्थ सस्तो हुँदा नेपालीहरु पानी खानुपर्नेृ ठाउँमा पनि पेय पदार्थको बढी प्रयोग गर्ने गर्दा पनि मिर्गौलामा समस्या निम्तिएको छ।’

नेपाल मेडिसिटी अस्पतालमा प्रत्यारोपणदेखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेले बताए।

‘यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मिर्गौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,’ डा काफ्लेले भने।

मिर्गौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन्। सरकार र सबैको ध्यान मिर्गौलाको उपचारमा मात्र भएको भन्दै डा काफ्लेले अब मिर्गौला बचाउँने अभियामा लाग्नुपर्ने बताए।

‘मिर्गौलाको विषयमा सबै कुरा उपचार केन्द्रित भयो, प्रिभेलेन्सको कुरा हरायो, हामीले हाम्रो मिर्गौला स्वस्थ राख्नुपर्छ, वर्षको एकपटक मिर्गौला जाँच गराउनुपर्छ, उनले भने,‘सरकारको ध्यान पनि उपचारमै छ, स्वास्थ्य बीमाले पनि स्वास्थ्य परीक्षणमा जोड दिएको छैन, उपचारमै केन्द्रित छ।’

हालसम्म १५० भन्दा बढी बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएकामध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको र ९ जना प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्