मिल्यो भागबन्डा

सकसका बीच विस्तारित मन्त्रिपरिषद् अझै अपूर्ण



काठमाडौं ।

संसद्को पहिलो दल नेपाली कांग्रेसको साथ छाडेर दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को मुख्य सहयोगमा बनेको पाँच दलीय सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा मिलेको छ।

गठबन्धन बाहिरका साना दललाई समेत समेटेर शक्ति विभाजन गर्ने सोचाइमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीले गठबन्धनभित्र चलखेल बढ्न थालेपछि केही मन्त्रालय बाँकी राखेर मन्त्रीको नाम टुंग्याएको हो।

लामो रस्साकस्सीबीच गठबन्धनका तर्फबाट एमाले, माओवादी केन्द्र, रास्वपा र नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीको नाम टुंग्याएका छन् । जनता समाजवादी पार्टीले भने गठबन्धनमा सहभागी भए पनि सरकारमा तत्काल नजाने निर्णय लिएको छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार १६ मन्त्री थपेर २० सदस्यीय मन्त्रीमण्डल बनाउनुभएको छ । यसअघि सोमबार तीनजना विना विभागीय मन्त्रीले शपथ ग्रहणसमेत गरिसकेका छन् ।

मन्त्रालय बाँडफाँटमा नयाँ र साना राजनीतिक दलहरूले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन्। सबैभन्दा महत्वपूर्ण उपप्रधानमन्त्री एवं गृहसहित चार मन्त्रालयल रास्वपाले पाएको छ।

सो दलका सभापति रवि लामिछानेले गृह, उपसभापति डीपी अर्याललले श्रम, सुमना श्रेष्ठले शिक्षा र विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

माओवादी केन्द्रले तत्कालका लागि प्रधानमन्त्रीसहित अर्थ, सञ्चार, पर्यटन र ऊर्जा मन्त्रालय लिएको छ। गठबन्धबाट रोजेर मन्त्री लिन पाउनुपर्ने हैसियतमा रहेको नेकपा एमाले अरूले छानेर रहेका मन्त्रालय लिनुपरेको एमाले नेताहरूले बताएका छन्।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘छाडेका मन्त्रालय एमालेको भागमा परेका छन्। त्यसमा पनि सिट संख्याका हिसाबले हेर्दा कम मन्त्रालयहरू एमालेको भागमा परे। गठबन्धनमा यो न्यायोचित वितरण थिएन। यद्यपि, हामीले नयाँ गठबन्धन बनाएकाले शक्ति वितरणका कुरालाई छाडेर देश र जनताका पक्षमा काम गर्ने योजनाका साथ सरकारमा सहभागी भएका हौं। धेरैको नजरमा नपरेका मन्त्रालयसँग जनताको प्रत्यक्ष सरोकार जोडिएको हुन्छ र ती मन्त्रालयलाई समेत महत्वपूर्ण बनाउन सकिन्छ।’

आगामी दिनमा नयाँ सरकारले जनताले महसुस गर्नेगरी काम गर्ने उहाँको दाबी छ। दुई शीर्ष नेता ओली र प्रचण्ड सरकारमा सहज बहुमत पुर्‍याउन साना दललाई जोड्ने, मन्त्रालय बाँडफाँटसँगै प्रदेश सरकारको भागबन्डा गर्ने, आगामी नीति कार्यक्रम सामूहिक रूपमा बनाउने, राष्ट्रिय सभा अध्यक्षलगायतका विषयलाई प्याकेजमा सहमति गर्ने योजनामा हुनुहुन्थ्यो। तर, भर्खरै बन्दै गरेको गठबन्धभित्र मन्त्रालय भागबन्डामै नेताहरूबीच असमझदारी बढेको र सत्ता बाहिर पुगेको कांग्रेसले असन्तुष्ट पक्षलाई समेट्ने प्रयास थालेपछि गठबन्धन जोगिने विषयमा आशंका व्यक्त गर्दै दुई शीर्ष नेताले मन्त्री छनोट गरेको एमाले श्रोतको दाबी छ ।

नयाँ गठबन्धनको सरकारमा तीन उपप्रधानमन्त्री रहने छन् । प्रधानमन्त्री प्रचण्ड पछि दोस्रो बरीयतामा एमालेबाट नेतृत्व गर्ने पार्टी सचिव रघुबीर महासेठ उपप्रधानमसहित भौतिक पूर्वाधार मन्त्री बन्नुभएको छ।

त्यसपछि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र र रास्वपाका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालयले भने अझै मन्त्री पाउन सकेका छैन ।

को–को भए मन्त्री ?

नेकपा एमाले
रघुवीर महासेठ – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात
पदम गिरी – कानुन न्याय तथा संसदीय मामिला
दामोदर भण्डारी – उद्योग वाणिज्य तथा आपूर्ति
ज्वालाकुमारी साह – कृषि तथा पशुपन्छी विकास
बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
हरि उप्रेती – रक्षा
भगवती चौधरी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
राजेन्द्र राई – खानेपानी

माओवादी केन्द्र

नारायणकाजी श्रेष्ठ – उपप्रधान एवम् परराष्ट्र
वर्षमान पुन – अर्थ
शक्ति बस्नेत – ऊर्जा, जलस्रोत तथा सिँचाइ
रेखा शर्मा – सञ्चार तथा सूचना प्रविधि
हितबहादुर तामाङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

राष्ट्रिय स्वतन्त्र पार्टी
रवि लामिछाने – उपप्रधान तथा गृह
डोलप्रसाद अर्याल – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
विराजभक्त श्रेष्ठ – युवा तथा खेलकुद
सुमना श्रेष्ठ – शिक्षा, विज्ञान तथा प्रविधि

एकीकृत समाजवादी
भानुभक्त जोशी – संघीय मामिला तथा सामान्य प्रशासन
धनबहादुर बुढा – सहरी विकास

प्रतिक्रिया दिनुहोस्