पुँजी बजारबाट पौडेललाई हरियो र पुनलाई रातो झण्डा



काठमाडौं ।

सत्ता समीकरणको जोड घटाउ भइरहँदा मन्त्रालय विभाजनको चर्चासँगै पुँजी बजारले रङ फेर्न थालेको छ। अर्थ मन्त्रालयको जिम्मेवारी कुन पार्टीका नेताले पाउने भन्ने चर्चासँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले रङ फेरेको हो।

अर्थतन्त्रको परिदृश्यका रूपमा लिइने सेयर बजार अर्थमन्त्रीले ल्याउने नीति र कार्यक्रममा निर्भर हुने भएकाले मन्त्रीको नाममा हुने चर्चासँगै सेयर बजारमा उतारचढाव हुने गरेको छ । लगानीमैत्री नेताको नाम अर्थमन्त्रीका रूपमा चर्चा हुँदा नेप्से बढ्ने र सेयर बजारप्रति अनुदार मानिएका नेताको चर्चा हुने नेप्से घट्ने गरेको छ ।

सोमबार मन्त्रीमण्डल पुनर्गठनसँगै नयाँ अर्थमन्त्रीका रूपमा एमाले नेता विष्णुप्रसाद पौडेलको चर्चा हुँदा पुँजी बजारमा उछाल आएको थियो । सोमबार तीनपटकसम्म सकारात्मक सर्किट लागेको बजार अर्को दिन अर्थात् मंगलबार माओवादी नेता वर्षमान पुन नयाँ अर्थमन्त्री हुने चर्चासँगै तीव्र गतिमा ओरालो लाग्यो । अघिल्लो दिन जसरी उर्लिएको थियो । मंगलबार त्यसै गरी ओरालो लागेको छ ।

सोमबार अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा चलेपछि लगानीकर्ता उत्साहित हुँदा ११७ अंकले वृद्धि हुँदै तीनपटक सर्किट लागेको थियो । तर, मंगलबार अर्थमन्त्रीमा पुनको नाम चर्चामा आउँदा नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घटेको छ ।

एउटा राजनीतिक व्यक्तिका कारण पुँजी बजार प्रभावित हुनु हुँदैन। तर, लगानीकर्तामा मनोवैज्ञानिक असर पर्ने भएकाले पुँजी बजार प्रभावित भएको लगानीकर्ता निरजलाल श्रेष्ठ बताउनुहुन्छ।

श्रेष्ठका अनुसार भावी अर्थमन्त्रीका रूपमा चर्चा रहेका दुई नेताको विगतको ट्रयाक रेकर्ड हेर्दा बजारले विष्णु पौडेललाई बढी विश्वास गरेको देखिन्छ । तर, वर्षमान पुन मात्रै होइन यसअघि माओवादीकातर्फ भएका चारवटै अर्थमन्त्री (डा. बाबुराम भट्टराई, वर्षमान पुन, कृष्णबहादुर महरा, जनार्दन शर्मा)लाई पुँजी बजारले विश्वास गर्न सकेको छैन ।

विशेष गरी माओवादीका नेताहरू पुँजी बजारप्रति अनुदार हुने, नियमक निकायहरूलाई अस्वाभाविक दबाबमा राख्नेलगायतका पृष्ठभूमिका कारण अर्थमन्त्रीमा माओवादी नेताको नाम आउनेबित्तिकै पुँजी बजार लल्याकलुलुक हुने श्रेष्ठले बताउनुभयो ।

पुँजी बजार मात्रै होइन समग्र आर्थिक नीति व्यक्तिको लहड र क्रान्तिका नाममा होइन विधि, सिद्धान्त र प्रणालीअनुसार परिमार्जन, संशोधन वा नयाँ लागू गर्नुपर्छ तर माओवादीका नेताहरूमा त्यस किसिमको स्वभाव नदेखिएको अर्थशास्त्रका उपप्रध्यापक विकास आचार्य बताउनुहुन्छ। उहाँका अनुसार पुँजी बजार मात्रै होइन देशको अर्थतन्त्र अहिले गम्भीर मोडमा छ।

अर्थतन्त्रको ड्राइभिङ सिटमा बस्ने व्यक्तिले विषयको महत्व र परिस्थितिको गहिराइलाई बुझेर नीति नियम निर्माण र निर्देशन जारी गर्न सक्ने हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो– ‘आजको भोलि नै कुनै व्यक्तिले जादुको छडी लगाएजस्तै रातारात सुधार हुने होइन । तर, बिग्रिनका लागि सानो निहुँ नै काफी हुन्छ ।’

विगतमा डा. भट्टराईले पुँजी बजारलाई जुवाको घर, डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्रको संज्ञा दिनुका साथै जनार्दन शर्माले राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से आदि निकायमा दिएको दबाबले समग्र अर्थतन्त्रमा असर परेको आचार्यको भनाइ छ।

उहाँका अनुसार अर्थनीति बनाउने अर्थमन्त्री र वित्तीय नीति बनाउने गभर्नरबीच समझदारी भयो भने पक्कै पनि अर्थतन्त्रमा सुधारका संकेत ल्याउन सकिन्छ।

यतिबेला अर्थतन्त्रका बाह्य सूचकहरूमा राम्रो देखिएको छ । केही आन्तरिक सूचक विशेषगरी ऋण प्रवाह, राजस्व संकलन, पुँजीगत खर्च, सरकारी निकायबाट हुने भुक्तानीमा समस्या छन्। त्यसलाई सुधार गरेको अवस्थामा पुँजी बजारमा पनि सकारात्मक असर हुने आचार्यले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्