नेपाली साहित्यमा बहिष्कारवादको आह्वान



काठमाडौं ।

पूर्वीय साहित्यमा कुनै वाद स्थापित नभएको भए पनि पाश्चात्य साहित्यमा विभिन्न कालखण्डमा, विभिन्न कारणले विभिन्न वादहरू स्थापित हुन पुगेका छन्।

उदाहरणको रुपमा आदर्शवाद, स्वच्छन्दतावाद, यथार्थवाद, दादावाद, प्रतीकवाद आदि रहेका छन् । नेपाली साहित्य विशेष गरेर पूर्वीय साहित्य रचना परम्परामा आधारित रहेको छ।

हुन त हिजोआजका साहित्यकार मात्र विगतका प्रसिद्ध नाट्य साहित्यकार तथा नाट्यसम्राटको उपाधिसमेत हासिल गरेका बालकृष्ण समले पूर्वीयसँगै पाश्चात्य साहित्यको पनि अनुशरण गरेर नाटक रचना गरेका छन्।

भक्त प्रल्हाद नाटक पूर्वीय साहित्य मान्यता अनुसार रचना भएको छ भने मुटुको व्यथाजस्तो प्रसिद्ध नाटक पाश्चात्य नाट्य परम्पराबाट प्रभावित भएर रचना गरिएको नाटक हो ।

नाट्य साहित्य मात्र होइन कविता साहित्य पनि पूर्वीय मान्यता अनुसार रचना गरिँदा छन्द मिलाएर रचना गरिएको हुन्छ र बेछन्दको कवितालाई कविता नभनेर अकविता भन्ने गरिएको छ। अपितु अहिलेका धेरैजसो नेपाली साहित्यकारहरुले यसै बेछन्दमा वा बेछन्दे कविता लेखेर आफूलाई चिनाएका छन्।

समग्रमा भन्ने हो भने साहित्यको धर्म भनेको पाठकको मनमा अब के होला ? भन्ने खुल्दुली जगाउनुका साथै हँसाउनु, रुवाउनु, भावुक बनाउनु, आल्हादित बनाउनु, रेचकको कामसमेत गर्नु हो।

त्यतिमात्र चाहिँ पूर्वीय साहित्य रचनाका सीमा भए। तर आजको यो युगसम्म आइपुग्दा साहित्यले खुल्दुली गराउने, भावुक बनाउने, रुवाउने, हँसाउने आदि काममात्र नगरेर समाजदेखि लिएर राष्ट्र, अन्तर्राष्ट्रसम्मको परिवेशमा हुने गरेका विकृतिहरुलाई मीठो व्यङ्ग्य वा घुमाउरो छेड हानी सुधारको पक्षमा ल्याउने प्रयास गर्नुपर्ने पनि हुन्छ।

यदि कुनै साहित्यको माध्यमबाट छेड हान्न सकेर सम्बन्धित पक्षको मर्ममा प्रहार गर्न सकियो भने तरबार र बन्दुकको युद्ध नलडेरै पनि संसार विजय गर्न सकिन्छ।

फ्रेन्च भाषाबाट आएको र अङ्ग्रेजी भाषामा दादाइज्म भएको मानिन्छ । यसको शाब्दिक अर्थ भने इच्छा वा चाहनाको वा सोख, खेलौनाको घोडा भन्ने हुन्छ । यसको अर्थ वा भाव नकारात्मक वा विध्वंशात्मक भन्ने भए पनि नकारात्मकता अनि विध्वंशबाटै नयाँ र सकारात्मक कुराको जन्म हुन्छ भन्ने ठानिन्छ।

प्रथम विश्वयुद्धले तहसनहस पारेको बेलामा स्विट्जरल्यान्ड देशको जुरिख भन्ने स्थानमा दादावादीहरुको आन्दोलन भएको थियो।

विश्वयुद्धले विनाश गरेको समयमा, आम युवावर्गको मानसमा अथाह निराशा जमेको यस कालखण्डमा पनि फेरि धर्म, उही संस्कार, उही फोस्रा मान्यताहरु लाद्न खोज्दा निराश मानसिकताका आम युवाले यिनै कुराको विरोध गरेर आन्दोलन गर्दै हामीलाई अब धर्म, संस्कार, संस्कृति, केही केही केही चाहिएन भन्दै विरोध गरेका थिए।

जसलाई पाश्चात्य साहित्यमा दादावादको नामले पुकार्न थालियो। हाम्रो देशमा पनि आम युवावर्ग आफ्नो देशमा सुहाउँदो र बाँच्न पुग्ने खालका रोजगारीका अवसर केही नपाएर रुँदै विदेशिन बाध्य हुनुपरेको छ।

उमेर वृद्ध र दिमागी चालमा बास बस्दै गरेका अनि पटक–पटक सत्ताको बागाडोर आफ्नो हातमा लिएर पनि एउटा माखो मार्न नसक्ने, देशको माया पटक्कै नभएका हृदयहीन पात्रहरुको हातमा सत्ताको बागडोर परेको छ। जनताले आफ्ना पीडा र दुःखका कुरा जति सुनाए पनि पटक्कै सुन्न नचाहने र विदेशी दलालसँग मिलेर देशको अखण्डतामाथि नै आँच आउने, काम कति नहिच्किचाई गर्ने र हुने गरेका छन् । स्वदेशमै रहेका युवालाई पनि धर्म, संस्कार, संस्कृति आदिका फोस्रा कुरा सुनाएर टालटुल पार्न खोजिने अवस्था अहिले रहेको छ।

देशलाई जनहितका दृष्टिले एकरत्ति नभएर आफ्नो स्वार्थ पूरा गर्नको लागि पटक–पटक दाउमा राख्ने गरिएको छ। त्यतिमात्र होइन कि भ्रष्टाचार र भ्रष्टाचारीलाई हदैसम्मको कार्यवाही गर्नुपर्ने माग राख्दै हिँडेका जनतालाई अनेक प्रकारका दुःख दिएरै भए पनि अपराधी, ज्यानमारा आदिजस्ता चरित्रका मान्छेलाई कुनै सीमा नहेरी, कार्यवाही गर्नु र देशको अर्थतन्त्रलाई सुदृढ बनाउने काम गर्नको साटो शक्तिका भरमा धेरै थरीका नचाहिँदा उपद्रवहरु हुने गरेका छन्।

राजनीतिक शक्तिको आडमा लागेर दलालहरुले देश बेचेर आफैँ पो हसुर्ने हुन् कि भन्ने भयावह अवस्था सिर्जना भएको छ। हामीलाई सही पथ प्रदर्शन गर्ने सामथ्र्यको खोजी गर्नु थियो र अहिलेको इच्छा पनि तदनुसारकै रहेको छ । कहिले दूरदृष्टिको शासक आउला र हामीले कल्पना गरेको जस्तो सुन्दर कर्म गर्ला भन्ने हाम्रा कोमल इच्छाहरु कहिल्यै पूरा हुन पाएको भने कति पनि छैन । त्यसैले अब हामी भन्दै छौँ :

ए राजनेता भनाउँदा हावादारी मान्छेहरु हो,
बन्द गर तिमीहरुका बकवास,
अब हामी तिमीहरुलाई बहिष्कार गर्छौँ, गर्छौँ ।
हामीले यतिका वर्ष अपेक्षा गर्दै बस्यौँ
अब तिमीहरुका खिया लाग्दा दिमाग विश्राम गरुन्
तिमीहरु त्यो भौतिक स्वर्गलोकबाट,
राजा बलि पाताल भासिएझैँ,
छिटो भासियौ भने मात्रै जित्ने छौ ।
होइन, आनाकानी गर्छौ भने केही पनि हुनसक्छ ।
हामीलाई अब कुनै तन्त्र चाहिएन,
कुनै मन्त्र र धामीझाँक्री चाहिँदै चाहिएन ।
हामीलाई सबै तन्त्रले साधु बिरालो बनेर,
शरीरभर डसेको छ ।
नपत्याए हेर दाँत र नङ्ग्राका डोबहरु
हामीलाई पनि थाहा छ,
देश, धर्म, संस्कार र संस्कृतिको महत्व,
हो, अब हामी नयाँ शिराबाट थालनी गर्छौँ
अनि कसैलाई नडसी, नमारी नयाँ परिवर्तन ल्याउँछौँ
तिमीले जस्तो केवल आश्वासन मात्र होइन,
चमत्कार गरेर देखाउने सामथ्र्य हेर्ने छौ
त्यसैले बन्द गर बकवासका कुरा

आजका आम नेपाली युवाको सामूहिक आवाज हो यो। अबका दिनमा नेपाली साहित्यका हरेक विधाले यस कुरालाई आत्मसात् गर्न बाध्य बन्नुपर्ने छ। अनि अनेक राजनीतिक दलका लम्पट कार्यकर्ताको कुरो गर्ने हो भने उनीहरु नेताको तलुवा चाट्न पाउन्जेल मात्र वरिपरि झुम्मिने होलान्।

नेताको तलुवा चाट्न नपाउने भएपछि बाहिर मुखले नबोले पनि भित्री आत्माले यही कुरो बोल्न बाध्य हुनुपर्ने छ। आम नेपाली युवाले भ्रष्ट नेता अनि भ्रष्ट कर्मचारीलाई बहिष्कार गर्दै जान सकेको खण्डमा आउँदो पुस्ताको नेतृत्व गर्नेहरु त आजका भ्रष्टचारीजत्तिका अवश्य नहोलान् भन्ने अपेक्षा मात्र होइन विश्वास गर्नसमेत सकिन्छ।

हामीले राणा शासनलाई भोग्यौँ। राणा शासनले हामी आम नेपालीको मात्र होइन कि आमाको गर्भमा सुरक्षित ठानिएको शिशुले समेत डसाइ भोग्नुपर्‍यो। जसको परिणाम जन्मेर पनि अभिशप्त जीवन बाँच्नुपरेको थियो। पञ्चायती शासकबाट डसिएका दाह्रा र नङ्ग्राका डोबहरु अझै हामी कैयौँ नेपालीका आङमा रहेका होलान् ।

गणतान्त्रिक शासन व्यवस्था यति धेरै निम्छरो भयो कि विनायोजनाको शासन, विनालक्ष्यको कर्म, केवल आम जनताको आँखामा धूलो हाल्ने र आफू लुक्ने हावादारी गफ गरेर सचेत जनतालाई झुलाइरहन खोज्ने प्रवृत्तिको विकास हुनाले गर्दा निराशाको मात्रा घनिभूत भएर जान थालेको छ। यही निराशाका कारण आत्महत्या गरेर धेरै ज्यानसमेत गुमाइसकेको अवस्था विद्यमान छ।
आजका हामी नेपाली जनता अधिक मात्रामा सचेत जनताको सूचीमा परेका छौँ । सचेत जनताको धर्म भनेको हाम्रा राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक आदि क्रियाकलाप जुनसुकै स्तरबाट गरिँदाको समयमा ती क्रियाकलापसँगै कति विकृति पनि भित्रिए ? भनेर लेखाजोखा गर्नुपर्ने हो।

हामीले आजसम्मका दिनमा यस्ता लेखाजोखा नगरेकै हामी निरीह मान्छेलाई धूर्त मान्छेहरुमध्ये कसैले दाह्रा धसेर लुछे अनि असह्य पीडा हुने घाउ बनाइदिए। कसैले हाम्रो रगत र पसिना पिएर उनीहरु मोटाए । कसैले हाम्रो इज्जतमाथि धावा बोलेर इज्जत लुटी लाखको सामुमा बेइज्जत गरे।

यति भएर पनि हाम्रो सोच बदलिएन कि बरु मलाई त डसेको वा दाह्रा धसेको होइन, फलानालाई पो डसेको वा दाह्रा धसेको हो त भनेर हामी दाह्रा धसिनबाट जोगिनेहरु केही बेरका लागि मख्ख पर्‍यौँ । जब आफ्नै शरीरमा निर्लज्जतापूर्वक दाह्रा धसिन आइपुगे तब मात्रै हामीलाई थाहा भयो कि फलानो मान्छेरुपको प्राणी खराब रहेछ, लोभी रहेछ, भ्रष्ट रहेछ भन्ने कुरा बल्ल थाहा भयो।

भोगेपछि बल्ल थाहा पाउनुभन्दा अगावै कुनै कुरा थाहा पाइयो वा आफ्नो शरीरमा दाह्रा धसिन आइपुग्नुअगावै मलाई वा मेरो शरीरमा पनि दाह्रा धसिएला कि भनेर विचार गर्ने र दाह्रा धसिनबाट जोगिन वा दाह्रा धस्नेसँग कडा प्रतिवाद गरेर हराउन सक्ने मान्छे मात्रै सचेत मान्छेको परिभाषामा पर्ने गर्दछन् ।

हाम्रा नेताहरु धर्मसभामा गएर हामीलाई धार्मिक आस्थाको आधारमा बिभिन्ड्याउँछन् मात्र होइन कि भिडाउन समेत बेर लगाउँदैनन् । तर हामी आफैँ सचेत भएकाहरुले धार्मिक सहिष्णुताको बाटो अपनाउन आफैँले जानेका थियौँ । हाम्रो हृदय नै पवित्र हुनाले कसैलाई दुर्भावनाको दृष्टिकोण नलगाएपछि त्यहाँ धर्मको नाममा विवाद हुने मौका नै आउने थिएन ।

पञ्चायती शासनकालसम्म हामीले कुनै राजनीतिक दलको दास नभईकन सहनशीलताको भावनामा एक–अर्कालाई जिउँदाको जन्ती र मर्दाको मलामीको भावमा डुबेर सद्भावपूर्ण व्यवहार अपनाएका थियौँ । तर प्रजातान्त्रिक व्यवस्थासँगै हामी विभिन्न राजनीतिक दलका घोडा बनेर नेतालाई बोक्दै र उचाल्दै माथिको कुर्सीमा बसाउन भ्यायौँ । आज आएर हामीले माथिको कुर्सीमा बसाएको नेताले देशको ढुकुटी निर्धक्कसँग लुटी खाएर, शरीर फुलाएर, हाम्रो टाउकोमा टेकेर हामीमाथि मनपर्दी शासन गरिरहेको छ । हामी धेरै पीडा खपेर पनि त्यस असहिष्णु व्यवहारलाई सहन विवश छौँ । त्यसैले, हामी भन्छौँ :

तिम्रो असहिष्णु व्यवहार बन्द गर
जेलमा परेका ज्यानमारा अपराधीलाई,
जेलमुक्त गर्ने तिमी ऊभन्दा हजार गुना अधिक
अपराधी हौ, ज्यानमारा र हत्यारा हौ ।
देशको ढुकुटीलाई मनलाग्दी मास्ने अपराधीको,
संरक्षणकर्ता, तिमी उपरको अपराधी हौ ।
त्यसैले बन्द गर तिम्रा बकवासका कुरा
सुन्दा सुन्दा कान टट्टाए,
निराशाले पराकाष्ठा नाघ्यो ।

एक करोड नेपाली युवाको यो जोशिलो आवाजले कुशासनको दलदलमा फसेको अनि अनेक तानाबाना बुनेर भ्रष्टाचारमा लिप्त रहेकाहरुको मस्ती मार्न सक्नुपर्छ । त्यसैले फेरिको यो आह्वान भ्रष्ट र कुशासनको बहिष्कार, हामी युवाको अभियान रहनेछ ।

प्रतिक्रिया दिनुहोस्