मोतीलाल शिल्पकारको जीवनीगत आयाम



काठमाडौं ।

काष्ठकलाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात मोतीलाल शल्पकार एक प्रख्यात व्यक्तित्व हुनुहुन्छ। यही पहिचानलाई पुस्तौंदेखि धानिरहेका मोतीलाल शिल्पकार ९० वर्ष पुग्न एक सातामात्र बाँकी रहेका बेला ८९ वर्षको उमेरमा २०८० माघ २९ गते सोमबार हामी सामु रहनुभएन।

काष्ठकलाको क्षेत्रमा नेपालमा गनिएका, चुनिएका उद्योगीलाई अरू क्षेत्रमा सक्रिय हुनुपर्ने खासै जरुरत पनि थिएन । तैपनि उनको समग्र जीवन भने उद्योग र व्यवसायमा मात्र सीमित हुनुभएन। शिल्पकारको समग्र जीवनका कर्मलाई तीन आयामबाट हेर्न सकिन्छ।

पहिलोे काष्ठकला, हस्तकला र उद्योगीको रूपमा, दोस्रो परम्परागत नौबाजा, न्यकू जात्राको संरक्षण र निरन्तरतामा र तेस्रो बुद्धधर्मको विकास र विस्तारको क्षेत्रमा। उनको सार्वजनिक जीवनको चिन्ता, उठबस वा संस्थागत आबद्धताको घेरा यी तीन वटै पक्षको सेरोफेरोमा घुमेको पाउँछौं।

सामाजिक जीवनका विविध क्षेत्रमा उनको सक्रियता देखिन्छ। आखिर दायित्व लिएपछि परिआउने न हो । ८९ वर्षसम्म बाँचेका शिल्पकारको समग्र जीवनका कर्मलाई तीन आयामबाट हेर्न सकिन्छ । पहिलोे काष्ठकला, हस्तकला र उद्योगीको रूपमा, दोस्रो परम्परागत नौबाजा, न्यकू जात्राको संरक्षण र निरन्तरतामा र तेस्रो बुद्धधर्मको विकास र विस्तारको क्षेत्रमा । उनको सार्वजनिक जीवनको चिन्ता, उठबस वा संस्थागत आबद्धताको घेरा यी तीन वटै पक्षको सेरोफेरोमा घुमेको पाउँछौं ।

अझ सबैभन्दा महत्वपूर्ण कुरो के हो भने समाजको यी पक्षको विकास, प्रवद्र्धन लागि सञ्चार माध्यम र सञ्चारकर्मी भूमिका अपरिहार्य हुने धारणामा उनको मनमा निकै गढेको देखिन्छ । सञ्चार उद्योगको प्रवद्र्धन, यी क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहित गर्ने कार्यमा पनि शिल्पकारको भूमिका उल्लेखनीय रहेको छ । उनले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार नेपाल भाषा, संस्कृतिको विकासको क्षेत्रमा स्थापित पहिलो पत्रकारिता पुरस्कार हो।

यस पुरस्कारबाट बुद्धधर्म, नेपालभाषा, संस्कृति, सम्पदा संरक्षणमा पत्रकारितामार्फत् योगदान पुर्‍याएका थुप्रै पत्रकारहरू सम्मानित भइसकेका छन्। यस क्षेत्रलाई प्रसारणको मुख्य लक्ष्य बनाई खोलिएका टेलिभिजनहरूको निरन्तरतामा पनि उहाँको सदाशयता र सहयोग रहेको थियो।

आफू संलग्न रहेको गतिविधि छापा, श्रव्यदृष्य र श्रव्यमार्फत् गराउने वा हुनुपर्ने कार्यमा शिल्पकारले निकै ध्यान दिने गरेको थिए। यस गुणले पनि उनको व्यक्तित्वलाई थप स्थापित गराउन टेवा पुर्‍याएको देखिन्छ ।

एक सञ्चारकर्मीको दृष्टिमा धेरैजसो समाचारको विषय बन्ने र समाचारमा छाउनेमध्येका एक व्यक्तित्व शिल्पकार हुन् । उनी पत्रपत्रिकाका एक सक्रिय पाठक, समाचारको स्रोत र उनको जीवन गाथा स्वयं समाचारको विषय पनि बनेका छन्।

सञ्चार माध्यमका लागि उनी एक विज्ञापनदाता हुन् । सञ्चारसँगको उनको पहुँच, सञ्चारमा बुद्धधर्म, नेपाल भाषा संस्कृति सम्पदाको गतिविधिले स्थान पाउनुपर्ने उनको चासो धेरैका लागि अनुकरणीय विषय हो । किनभने यसमा क्षेत्रमा क्रियाशीलहरूले अपेक्षाकृत आफ्ना गतिविधिलाई सञ्चारमाध्यमसँग जोडेर लान सकेका छैनन् । सञ्चारमाध्यमसँग सहकार्य गर्नुपर्ने कुरामा खासै प्राथमिकता दिने गरेका छैनन् । यस अवस्थामा सञ्चार माध्यमप्रतिको उनको चेत चर्चा गर्न लायक विषय हो ।

परम्परागत नौबाजाको गुरुका रूपमा होस् त्यसको संरक्षणमा लाग्दा शिल्पकारका लागि शताब्दी पुरुष सत्यमोहन जोशी सदैव प्रेरक र सहयोगीको रूपमा रहे । जोशीले शिल्पकारलाई अंग्रेजी सिकाएका थिए भने जोशीलाई उनले वाद्यवादन सिकाएका थिए। आफ्नो वाद्यवादक क्षमता राष्ट्रिय र अन्तर्राष्ट्रियमाझ देखाउने अवसर जोशीले शिल्पकार जुराईदिएका थिए।

यही गुणले ओतप्रोत भएर पनि हुनुपर्दछ सत्यमोहन जोशीको नेवारी परम्परा अनुसार २०६५ माघ १५ गते भएको तेस्रो जंकु (देवरथारोहण) का दिन नगर घुमाउनदेखि अभिनन्दन कार्यक्रमलगायत सबैको लिएर सबैको नेतृत्व आफैंले लिएका थिए। सत्यमोहन जोशीसँग जोडिनुमा उनको पृष्ठभूमिले काम गरेको थियो ।

१४ सय वर्षदेखि गुरु शिष्य परम्परा हुँदै जर्गेना गर्दे आएका बाजागाजाका बोलहरू संङ्कलन गरी शिल्पकारले पहिलोपटक पुस्तकको रूप दिएका थिए । उनीबाट धेरैले नौ बाजा सिकेका थिए । शिल्पकारका बुबा मोहनलाल जुद्ध शम्शेरको दरबारमा काम गर्नुहुन्थ्यो । एक दिन बुबासँगै शिल्पकार दरबार गएको थिए । त्यतिबेला जुद्धशम्शेरसँग भेट भयो ।

त्यतिबेला कुराकानीको क्रममा जुद्धशम्शेरले बुुबालाई छोरा के गर्दे छन् नि भनी सोधे । उत्तरमा शिल्पकारका बुबाले स्कुलमा पढ्दै छन् भने । त्यतिकैमा जुद्धशम्शेरले तिमो छोरालाई अंगे्रजी पढाएर कांग्रेस बनाउने भनेर गाली गरेका थिए । त्यसपछि बुबाले शिल्पकारलाई स्कुल पठाएनन् । त्यसैले उनले अंगे्रजी सिक्न पाएनन् । स्कुल जान नपाएपछि मोतीलाल नौ बाजातर्फ आकर्षित भए।

ललितपुरमा हरेक वर्ष मतयाः जात्रा (दिप यात्रा)को सेरोफेरो वा गुँला पर्व अवधिमा लोप हुँदै गएका नौ बाजा बजाइने परम्परा रहेको छ । आफनो टोल ईखालुखुमा मतयाः आयोजना गर्ने जिम्मेवारी हुँदा उनलाई भ्याई नभ्याई हुन्थ्यो । उनले आफना गुरुहरूबाट न्यंकू बाजाका बोलहरू सिक्ने र बाजा बजाउन निकै तल्लीन भएर लागे।

यसरी महिनौं मिहिनेत पछि उनी नौवटै परम्परागत बाजागाजा बाजा बजाउने सक्ने एकै व्यक्तिमा दरिन पुगे । त्यतिमात्र होइन नौबाजा एकैपटक पनि बजाउन सक्ने प्रतिभा रहेको थियो । उनको ख्याति टोल समाजमा विस्तार चुलिँदै गयो । यसले जीवनमा नयाँ नयाँ मानिसहरू संगत गर्ने, परम्परागत बाजागाजा प्रर्दशन गर्ने ढोका खुलेको थियो ।

विशेष रूपमा भन्नुपर्दा काठमाडौं उपत्यका बाहिर र भित्र बौद्ध विहार निर्माण, चैत्य स्थापना, बौद्ध परियत्तिको पुस्तक प्रकाशन, बालबालिका र महिलालाई बौद्ध परियत्ति अध्ययन, रचनात्मक क्रियाकलापमार्फत् क्षमता विकासमा उनको चासो, चिन्ता र सहयोगले जीवनको अन्तिम अवस्थासम्म निरन्तरता पाइरह्यो ।

उनले वर्षेनी निकाल्ने गोजी पात्रो, उनका जीवनीलाई समेटिएर लेखिएको पुस्तकहरूको आधारमा भन्नुपर्दा बुद्धधर्मका क्षेत्रमा शिल्पकारको सहयोग बेगर भए गरेका कार्यक्रम औंलामा पनि गन्न सकिन्छ । यसले समाजमा उनलाई दाताको रूपमा चिनायो । यसका लागि उनको पुस्तौनी काष्ठकला उद्योगीको पृष्ठभूमि महत्वपूर्ण कारक बनेको छ । दानशीलताको भावनाको लागि त्यो कारण मात्र पर्याप्त भने होइन ।

एक धनवानले आफ्नो धन यी क्षेत्रको विकासको लागि सदुपयोग गरी कमाएको धनकै इज्जत बढाए । शिल्पकारको हातबाट खर्चिएको धनले पनि धन्य र गौरवको महसुस गरेको हुनुपर्दछ । वर्षको एकचोटी सार्वजनिक क्षेत्रमा सरसफाई वा केही थोर बहुत सामाजिक काम गरेर त्यसभन्दा बढी प्रचार खोज्ने कुनै वित्तीय संस्था वा उद्योगी, व्यवसायीका निम्ति सामाजिक उत्तरदायित्वको विषयमा शिल्पकारको जीवनी एउटा उदाहरण हुनेछ।

ती क्षेत्रको प्रवद्र्धनमा धनले मात्र नभई शारीरिक र मानसिक हिसाबले उनी सक्रिय रहे । तीन महिनाअघि उनको तेस्रो जंकु धार्मिक र सामाजिक माहोलका बीच सम्पन्न भएपछि अलि गलेका शिल्पकार मृत्यु हुनुअगावैको छ महिनाभित्रमा बिरामी भएर उपचार र आराम गरेको तीनचार महिनाबाहेकको समयलाई छाडेर भन्नुपर्दा जीवन सक्रिय रह्यो ।

बुढेसकाल सानदार रह्यो । सम्मानित रह्यो । सीलं याव जरा साधु यानेकि चरित्र र राम्रो स्वभावले नै मानिसलाई बुढेकालसम्म रक्षा गर्दछ भन्ने बुद्ध–वचनको ज्वलन्त उदारहणका रूपमा शिल्पकारको जीवन नियाल्दा अनुभूत गर्न सकिन्छ । मृत्युलगत्तै उनको सत्कर्म, पूण्यको प्रभावले धार्मिक विश्वासअनुरूप सम्भवतः देवराज इन्द्रको सभामा भव्य रूपमा स्वागत र सत्कार गरियो होला ।

शिल्पकारले दान दिँदै गए, दानी कहलिए । न्यकू बाजामा लागे, त्यसको गुरु कहिलिए । पुस्तौंदेखि काष्ठकलाको काम गर्ने परिवारका रूपमा कामलाई निरन्तरता दिए र उद्योगी कहलिए । उनको आचरण, व्यवहारले सामाजिक स्वीकार्यता बढाउँदै लग्यो।

उनको जीवन गति यसरी नै बगेको छ । त्यही गतिले नै उनको पहिचान बनाइदियो । दान दिएर पनि दानी नकहलाइएकाहरू बुद्ध धर्मको क्षेत्रमा नभएका भने होइनन् । तर उनी आफ्ना कामले सामाजिक विश्वास खरो उत्रिएका थिए । यसले गर्दा बुद्धधर्ममा उनले गरेको योगदान, क्रियाशीलता धेरै परबाट धेरैले देखिने उनको व्यक्तित्वको आयाम बनेको छ ।

दीर्घ जीवन, यश कीर्ति, स्वास्थ्य, सक्रियता जस्ता उनको गुणले धेरैलाई लोभ्याएको होलान्। उनको जीवनको भौतिक गति रोकिए पनि सार्वजनिक स्मृतिमा उनी लामो समयमसम्म बाँचिरहने छन्। आखिर जीवनको सहज जैविक वृत्तिभन्दा समाजिक वृत्तिले दोहो¥याउने मानिस नै जनजनको मनमस्तिष्कमा बाँचिरहने न हो।

बुद्ध धर्ममा सयौं भिक्षु, अनागारिका गुरुमांसहित बुद्धधर्म वृतका अनेक किसिमका मानिससँगको संगत, संवाद, धर्मदेशनाले शिल्पकारले जीवन जीउने शिल्प सिके । यही शिल्पले आफ्नै ढंगले उनले जीवनमा जन्मिएदेखि नमरुञ्जेलसम्मको खाली ठाउँ भरे।

यस हिसाबले पनि उनको जीवन सार्थक रह्यो जस्तो लाग्दछ। उनी निधन भएको आज १२ औं दिनको पूण्यतिथि (घसू) को दिन । निर्वाण कामना । शोकाकुल परिवारप्रति हार्दिक समवेदना।

प्रतिक्रिया दिनुहोस्