जनयुद्ध दिवसभित्र लुकेको यथार्थ



काठमाडौं ।

हरेक वर्षको फागुन महिनाको एक गतेलाई माओवादी केन्द्रले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। हाल पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व सम्हालेका छन्।

यस अवसरमा फागुन १ गतेका दिन जनयुद्ध दिवस मनाउन प्रम दाहालले सबैलाई आह्वान गरेका थिए। जनयुद्ध दिवस मनाउने मात्र नभएर भव्यताका साथ मनाउने भन्ने कुरा रहेको थियो। तर, हिजोका दसवर्षे जनयुद्धका घाइतेहरू जसले गोलीको छर्रा आफ्नो शरीरमा बोकेर अभिशप्त जीवन बाँच्नका लागि आफैँमा सङ्घर्ष गरिरहेका छन्।

जसलाई जनयुद्धमा होम्ने बेलामा विभिन्न आशा देखाइएको थियो। तर, जनयुपछिका यति धेरै वर्ष बित्दासमेत आश्वासन अनुसारको कर्म गर्न नसकेका कारण ती हिजोका दिनमा ज्यान हत्केलामा राखेर लड्नेहरूबाट प्रचण्डले विश्वास गुमाइसकेका छन्। तिनलाई जनयुद्ध दिवसको के अर्थ होला र ? तिनीहरूले केको खुसियालीमा जनयुद्ध दिवस मनाउनु र भन्ने प्रश्नको चित्त बुझ्दो उत्तर स्वयम् कमरेड पुष्पकमलसँग समेत छैन।

सत्ताको कुर्सीमा पुगेकाहरूको आमूल परिवर्तन भएको जीवनशैली देख्दै आएका र आफूहरूको जीवनशैली सुखमय हुनुको साटो अझै दुःखमय भएको सन्दर्भमा जनयुद्ध दिवस मनाउने कुरा आइरहँदा उनीहरूको मानसमा आवेग भरिन सक्छ।

घाइते योद्धाहरूको सन्दर्भमा भन्दा यस्तो कुरो आए पनि दसवर्षे युद्धमा लागेर ज्यान गुमाएकाहरूका सन्ततिले के उपहार पाए ? जनयुद्ध भनिएको दसवर्षे युद्धका क्रममा लाग्नेहरूलाई यदि माओवादीले जितेको खण्डमा नेपाल देश हामीहरूकै हुन्छ भन्ने आश्वासन पनि बाँडिएको थियो । अहिले आएर हेर्दा सिङ्गो देश आफ्नै हुने कुरो त परै जाओस् एक टुक्रो जमिन नहुनेको हालत युद्धपछिको अवस्थामा के परिवर्तन भयो ? वा के तिनले के कुरा उपलब्धिको रूपमा लिएर जनयुद्ध दिवस मनाउने होलान् ?

दसवर्षे जनयुद्धपछिका दिनमा देशले उन्नतिको सकारात्मक बाटो हिँड्न सकेर एउटा उचाइ छुन सकेको भए पो आजका दिनमा जनयुद्धले ल्याएको खुसीले गर्दा कम्तीमा त्यही खुसीलाई सम्झेरै पनि जनयुद्ध दिवस मनाउँदा सबैको मन खुसी हुने थियो।

माओवादीको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचारका फाइल निर्धक्कसँग खोल्न सकेन मात्रै होइन कि खोलेका फाइलमा सबुद प्रमाण भेटिएर फलानो व्यक्ति अपराधी नै हो वा थियो भनेर प्रमाणित गर्दै अपराधीलाई दिनुपर्ने सजायका कुरामा माओवादी नेतृत्वको सरकार अहिलेसम्मको हेराइमा सफल भएको छैन र थिएन पनि।

जति धेरै गफ र भाषण गरे पनि अबका दिनमा माओवादी हालकै सरकारको नेतृत्व गरेर पनि आफैँ असफल शासकको रूपमा स्थापित भएका छन्। जनयुद्ध दिवस आम देशले मनाउन पाएको भए पो त्यसको सार्थकता अधिक हुन्थ्यो त । एउटा पक्षले जनयुद्ध दिवस किन मनाउने र ? भनेर नकारात्मक टिप्पणी गर्दै गरेका बेला यी यी कारणले जनयुद्ध दिवस मनाउनु सकारात्मक पक्ष हो भन्ने एक थोपो ठाउँ छैन।

केवल सत्ता पक्षको हठवादीतामा जितेरै छाड्ने उद्देश्यले मनाउने जनयुद्ध दिवसको सार्थकता कति रहला ? आजको मध्य बिन्दुमा बसेर गरेको समीक्षाले पनि यही कुरा देखाउँदै छ । केवल माओवादी केन्द्रका कार्यकर्ता र नेतालाई जनयुद्ध दिवस मनाउने रहर जागेको त होइन, नेतृत्वले भनेपछि मन लागेको जस्तो गरेको मात्रै हो ।

दसवर्षे जनयुद्ध (२०५२, २०६२)ले हाम्रा हरेक क्षेत्रका प्रभावमध्ये कुनचाहिँ क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ त ? भनेर प्रश्न गर्दा त्यसको चित्त बुझ्दो उत्तर पाइने अवस्था आजसम्म पनि बन्न सकेको छैन । माओवादीको लडाकु समायोजनमा भएको हतारले गर्दा धेरै जना योग्य लडाकु पनि अयोग्य बन्न विवस बन्नुपरेको थियो ।

धेरै तिर्खाएको प्यासो हात्तीले पानी भेटाएर जसरी हतारसाथ पिउँछ त्यसै गरी हतार हतारका साथ सेना समायोजन गरेर सकेसम्म कमाउ धन्दामा लाग्नुपर्ने थियो र त्यसै स्वार्थलाई मध्यनजर राखेर धेरै लडाकुहरूको मन दुखाउने काम भएको थियो । २०६२ सालमा माओवादीसँग कति सङ्ख्यामा सेना थिए ? तिनमध्ये थोरैलाई मात्र सरकारी सेनासँग समायोजन गराउने काम सम्पन्न भयो।

बाँकी रहेका सैनिक लडाकालाई तत्कालै अयोग्य लडाका भनेर तिनको हुर्मत लिने काम गरियो । तिनीहरू शारीरिक रूपमा स्वस्थ थिए वा थिएनन् तर मानसिक रूपमा अधिक मात्रमा पीडा बोध गरिरहेका थिए । यसको मतलब के हुन्छ भने माओवादी सेना समायोजनमा असन्तुष्ट मनलाई सन्तुष्ट बनाउने प्रयास बेगरै हतारमा सेना समायोजन गरिँदा अयोग्य ठहरिएका धेर लडाकाहरूको मन दुख्न पुग्यो । यो काम सही थिएन ।

जनयुद्ध दिवस २०८० सालको फागुन १ गते मात्र होइन वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इच्छाबमोजिम आम नेपालीले समर्थन गर्थे भने हरेक वर्षको फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउने गहिरो इच्छा रहेको थियो र अहिले पनि त्यो इच्छा यथावत रहेकै छ भन्ने कुरा उनको अभिव्यक्तिबाट प्रष्ट हुनजान्छ।

जनयुद्ध दिवसको यति गहिरो इच्छा भए तापनि २०८० सालको फागुन १ गतेको दिन जनयुद्ध दिवस मनाउने आशय प्रकट हुँदै गर्दाको क्षणमा समर्थनको तुलनामा विरोधका स्वरहरू घनिभूत भएकाले मनाउने रहर भएर पनि सरकारकै तर्फबाट त्यो कार्यक्रम स्थगन गर्नुपर्ने बाध्यतामा प्रधानमन्त्री परेका थिए। हुन पनि हो, एक दशक लामो युद्धले ल्याएको जबरजस्त परिवर्तनबाहेकका आम नेपाली जनताले कति धेरै कुराको अपेक्षा गरेका थिए । ती कुरा आकाशको फलजस्तै भएर अहिलेको परिवेशमा समेत तिनलाई उपलब्ध गर्न निकै कठिनाइका साथ पापड बेल्नु परिरहेको छ ।

जनयुद्ध दिवस मनाउने कि नमनाउने ? भन्ने सन्दर्भको उठान हुँदै गर्दा त्यो विगतको त्यो गृहयुद्धले कुन वर्गका नेपाली जनताको जीवन बचाइमा परिवर्तन ल्याइदिन सकेको थियो वा सक्यो ? भन्ने कुरा निकै महŒवपूर्ण तर्क हुनजान्छ । नढाँटी भन्ने हो भने दश वर्षको कालखण्डमा आफ्नो जीवन मृत्यु र जीवनको दोसाँधमा राखेर युद्ध गर्नेहरूको तुलनामा आदेश दिने कमान्डरहरूको जीवनस्तरमा आकाश र जमिनको अन्तर हुनपुग्यो । यदि, आजका दिनमा जनयुद्ध दिवस मनाउने इच्छा जाग्थ्यो भने त जो नेपाली गरिब र निमुखा वर्गका थिए । गरिबीले सताएको अवस्थामा थिए भने तिनका जीवनस्तरमा आमूल परिवर्तन आउन वा ल्याउन आँट गर्नैपर्ने हुन्थ्यो । युद्ध लड्ने बेलामा हामीले युद्ध जित्नसकेका खण्डमा सारा देश नै हाम्रै हुन्छ भनेर आश्वासन बाँडिएको भए पनि वास्तविक व्यवहारको समयमा तिनलाई एउटा गुमराहमा राखेर ठग्ने काम भएको थियो ।

जनयुद्ध अन्त्य र शान्ति सम्झौता गर्दै गरेका दिनमा अब यो सानो र सुन्दर देशलाई यसो गरेर समृद्धशाली बनाउने सार्थक प्रयास गरिने छ भनेर यथार्थ विषयको कुनै सूची बनेको थिएन। त्यसको ठाउँमा अब सत्तारोहण कसरी गर्ने ? र आम जनताका साथै देश कसरी लुट्ने ? भन्ने योजना निकै तीव्रताका साथ र गोप्य तरिकाले हुँदै थियो।

त्यस बेला देश समृद्धिको योजना बनेको हुन्थ्यो र योजनानुसारका काम हुन्थे भने आज पहाडी भेगमा बाँझा रहेका खेतबारीमा कालो सुन अर्थात् अलैँचीका बुटा लहलहराएका हुन्थे, हाम्रा युवा विदेश जानुको साटो तिनै काला सुनका बाटोको स्याहार सुसारमा हुन्थे। कम्तीमा कालो सुनका स्याहार सुसारबाट बचेको समयमा आफ्ना घरपरिवार र छरछिमेकका आफन्त मर्दा मलामी जान पाउँथे, विवाहउत्सवमा जन्त गएर रमाइलो गर्दै एक अर्काको हौसला बढाउन सक्थे।

९५ वर्षका वृद्ध हजुरबा, आमाको सेवा गरेर पनि आफ्नै देशमा आत्मनिर्भर भएर बाँच्न सकिने अवस्था सिर्जना भएर छोड्थ्यो । नयाँ तरिकाले कृषि प्रविधि अगाडि बढाउन सकिने थियो । विदेशको खाद्यान्न आयातलाई क्रमशः कम गर्दै लगेर आफ्नै उत्पादनलाई हौसला बढाउँदै लगेर समग्र देश एउटा आत्मनिर्भरताको दौडाहामा दौडँदै हुनेथियो । तर, शान्ति सम्झौतापछिका दिनमा बनेका विभिन्न राजनीतिक दलका नेताको नेतृत्वमा बनेका कुनै पनि सरकारले यतिको एउटा बलियो दृष्टिकोणका साथ अगाडि बढ्न असफल भएकै अवस्था वर्तमानको अवस्था पनि हो।

आर्थिक रूपमा भन्ने हो भने देश जर्जर भइसकेको छ । धमिराले काठ खाएर खाक्रो बनाएजस्तै सबैतिर देश चुसिएको अवस्थाको पीडामा छ । स्वदेशमा एउटा सम्मानित नागरिक बनेर आफ्ना सन्तानको पालनपोषण गर्नका लागि अनुकूल परिवेश सिर्जना गर्न नसक्नेहरू नै अन्तमा केही नलागेर अरूमाथि दोष थोपरेर दौडँदै छन् । अझै उनीहरू आफूलाई चोखो पवित्र मान्ने र अरू सबैलाई फोहोरी, सोमतबेगरका भन्नेजस्ता मानसिक कुण्ठाले विक्षिप्त बन्दै गएका हुन् कि भनेजस्तो देखिन्छ ।

आजका दिनमा जनयुद्ध दिवस मनाउने हाम्रा प्रधानमन्त्रीको मानसिकताको समीक्षा गर्दा दश वर्षे युद्धका क्रममा जबरजस्त तरिकाले भए पनि भएका केही सकारात्मक परिवर्तनलाई लिन सकिने हुन्थ्यो । तर, जनयुद्धपछिका र त्यसमा पनि कमरेड प्रचण्डले ३ पटकसम्म सत्ताको कुर्सीमा आरोहण गरिसक्दा पनि कुनै ठोस काम गर्न नसकेका हुन कि विदेशीको दलाल बन्दै कुनै काम गर्न सकिरहेका छैनन् । आज आम नेपाली नागरिकका हृदयको आवाज पनि यही हो ।

दशवर्षे युद्धका कमान्डर र हालका नेपाल देशका कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा समेत विराजमान रहेका प्रमुख व्यक्तिको विचारलाई पनि कार्यन्वयन गरिनुअगावै गुपचुपका साथ स्थगन गरिनुले अलिकति भए पनि साँघुरोपनको अभिव्यक्ति दिइरहेको छ ? अब जनयुद्ध दिवसको घोषणा गरेर मात्र केही उपाय लाग्नेवाला छैन । प्रधानमन्त्री यस्ता लफडामा धेरै स्थानमा भिडिसकेका छन् ।

उनको यस्तो गहिरो भिडाइले गर्दा उनकै सहयोद्धासमेत फरक दिमागी चक्करमा लागेका पाइन्छन् । आफू प्रधानमन्त्रीको कुर्सीमा बसेकै बेला त उनले केही ठोस काम गर्न सकेनन् भने अबका दिनमा निकैतिरबाट दबाब आइरहेको अवस्थामा नौलो जनप्रेमी के काम गर्लान् त भन्ने प्रश्न उठ्छ।

आम जनताको यस्तो सकारात्मक विचार र जिज्ञासा आइरहेको भए पनि जनताका यी गुणकारी भनाइलाई कुल्चेर र बेला बेलामा देशको नाममा सम्बोधन गर्ने भनिए तापनि सकारात्मक परिवर्तनका खासै गुन्जायस आउन सकिरहेका छैनन्। त्यसैले यो विषम अवस्थामा जनयुद्ध दिवस मनाउनु कि नमनाउनु?

प्रतिक्रिया दिनुहोस्