अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा मुटु जाँच, जीवनशैली सुधार गर्न डा. अनिलको सुझाव



काठमाडौं।

पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा नवीकरणीय ऊर्जा परिसंघ नेपालले शनिबार मुटु जाँचसम्बन्धी बृहत् शिविर तथा स्वास्थ्य सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । ‘आर.ई. सेक्टर हेल्थ चेकअप एन्ड अर्वानेस प्रोग्राम’अन्तर्गत परिसंघले नेसनल कार्डियाक सेन्टरसँगको सहकार्यमा सो कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल र उनकोे टिमबाट सहभागीहरूको मुटु जाँँच गरिएको थियो । कार्यक्रममा डा. ओम मूर्ति अनिलले मुटुरोगको जोखिम, यसको न्यूनीकरणका निम्ति अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीहरूलाई प्रवचनसमेत दिएका थिए ।

अव्यवस्थित जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक गतिविधिमा निस्कृष्यता, प्रदूषित वातावरण, तनाव, स्वास्थ्य चेतनामा कम चासोलगायतका कारणले नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको जानकारी दिँदै त्यसतर्फ सचेतना अपनाउन सुझाव दिएका थिए । उनले युवा अवस्थामा बढ्दै गएको मुटुरोगको जोखिमलाई न्यूनीकरण गर्नका निम्ति नियमित स्वास्थ्य जाँच र जीवनशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।

उच्च रक्तचापलाई हेल्चेक्राई गर्ने, नियमित औषधि सेवनलाई अनावश्यक बोझका रूपमा लिने र स्वास्थ्यकर्मीसँग परामर्श लिनुको साटो वैकल्पिक उपाय अपनाउँदा दुर्घटना निम्तिन सक्ने खतरा रहेको डा. ओम मूर्ति अनिलको भनाइ थियो ।

त्यस्तै स्वच्छ ऊर्जाको प्रयोग नगर्दा पर्न सक्ने स्वास्थ्य जोखिमका विषयमा जानकारी दिँदै उनले स्वास्थ्यप्रतिको सचेतना बढेमा मात्रै जोखिम न्यूनीकरण हुने भएकाले नवीकरणीय ऊर्जा उद्यमीहरूले पनि आफ्नो क्षेत्रमा सचेतना फैलाउन सुझाव दिए । उनले आफूले जानेको, बुझेका स्वास्थ्य सचेतनासम्बन्धी कुरा ग्रामीण वस्तीहरूमा जाँदा अरुलाई पनि बाड्नका लागि ऊर्जा व्यवसायीहरूलाई आग्रह गरे।

कार्यक्रममा नवीकरण ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले स्वास्थ्य नै धन भएको हुँदा व्यवसायीहरूले आफ्नो पेसा व्यवसायसँगै स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने भएकाले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । मुटुरोगको जोखिम घटाउन स्वच्छ ऊर्जाको पनि भूमिका रहेको हुँदा पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा मुटु जाँचका कार्यक्रम राखिएको जानकारी दिए ।

नवीकरणीय ऊर्जा क्षेत्रका व्यावसायिक संगठनहरू नेपाल सौर्य विद्युत् उत्पादक संघ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल बायोग्यास प्रवद्र्धन संघ, जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल, ग्रामीण प्रविधि उत्पादक संघ नेपाल, नेपाल सौर्य ताप ऊर्जा संघ, जैविक ऊर्जा व्यवसायी संघ नेपाल र बायोग्यास सेक्टर पार्टनसिप नेपाललगायतको छाता संगठनका रूपमा परिसंघ रहेको छ ।

उक्त अवसरमा परिसंघले सामाजिक सचेतनाका निम्ति सामाजिक सञ्जालमार्फत् शुरू गर्नुभएको अभियानले विश्व रेकर्ड कायम गरेको भन्दै डा. अनिललाई कदर पत्रसमेत प्रदान गरेको थियो ।

नेशनल कार्डियाक सेन्टरले मुटुरोगको उपचारका साथै यसकाे जोखिम न्यूनीकरणका लागि विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर, सचेतनामुलक कार्यक्रम, स्वास्थ्यकर्मीहरूलाई तालिम र सञ्चारकर्मीलाई प्रशिक्षणसमेत दिई जनचेतना जगाउने कार्यलाई तीव्रता दिँदै आएको छ ।

पछिल्ला केही वर्षदेखि युवा वर्गमा मुटुरोगको जोखिम बढ्दै गएकाले नागरिकको मुटु बचाउनका निम्ति नेशनल कार्डियाक सेन्टरले सचेतनामुलक अभियान सञ्चालन गर्दै आएको सेन्टरका क्लिनिकल केयर म्यानेजर सन्ताेष राैनियारले बताए ।

प्रतिक्रिया दिनुहोस्