राष्ट्रिय एकताको कडी



काठमाडौं ।

दोस्रो जनआन्दोलनलाई संस्थागत गर्न बनेको संविधानले अबको नेपालको विकास र नेपाली राज्यको स्वरूप लोकतान्त्रिक र समावेशी मूल्यमा आधारित हुने भनिएको छ।

अघिपछिको तुलनामा यस दिशामा सुस्तरी नै किन नहोस् केही राम्रा संकेतहरू देखिएको छ। विशेषतः विभिन्न जातजाति र समुदायले मनाउँदै आएका पर्वहरूको प्रवर्द्धनमा राज्यको नगन्य नै भए पनि केही प्रयासहरू भएका छन्।

विशेषतः विभिन्न जातजाति र समुदायले मनाउने पर्वहरूमा सार्वजनिक बिदा दिने, राष्ट्रप्रमुख, कार्यकारी प्रमुखले शुभकामना सन्देश जारी गर्ने, विभिन्न समुदायका मानिसहरूबीच एकले अर्काेलाई शुभकामना दिनेसँगै मनाउने परम्पराको सुरुआत भएको छ।

यसले गर्दा सर्वसाधारणहरू माझ एक समुदायले अर्को समुदायको संस्कृति, परम्परालाई सम्मान गर्ने चेतको विकास पनि भएको छ। समाजमा देखिएको यस्तो वातावरणले सामाजिक सहिष्णुता र समुदायबीच सद्भाव बढाउन सकारात्मक भूमिका निर्वाह गरेको छ।

यस्तो प्रचलनले विविध समुदायको राज्यप्रति भावनात्मक रूपमा अपनत्व बढाउनुको साथै आत्मसम्मानको अनुभूति सञ्चार गर्ने गरेको छ। यस्तो अनुभूति तत् समुदायले पञ्चायतकाल वा २०४६ सालपछि बहुदलीय प्रजातन्त्र पुनःस्थापनापश्चात् पनि गर्न पाएको थिएन। यद्यपि, यो नै सबथोक त होइन।

मुलुक संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक, धर्मनिरपेक्ष र समावेशी स्वरूपमा जाने भनी संविधानले निर्दिष्ट गरेपछि बनेको एउटा सकारात्मक वातावरणको एउटा उदाहरणको रूपमा हिजो सोमबारको माघे संक्रान्तिलाई पनि लिन सकिन्छ।

हरेक वर्ष माघ १ गते माघ संक्रान्ति मनाइन्छ। यसैको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ। यही दिनमा वर्षौंदेखि मगर समुदायले मनाउँदै आएको माघी संक्रान्ति र थारू समुदायको माघी पर्व तथा नयाँ वर्षको समेत सम्बोधन गरी बिदा दिने प्रचलनले ती समुदायको भाषा, कला, संस्कृति, सीपलगायत विशेषतालाई बाहिर ल्याउन मद्दत गरेको छ। सञ्चारजगतमा यससम्बन्धी सामग्रीले केही न केही स्थान पाएको छ।

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता नेपालको एउटा महत्वपूर्ण विशेषता हो। विविध भाषाका प्रतिभा, साधनको सम्मान र प्रवर्द्धनबाट यही साझा भावलाई अवश्यमेव बलियो बनाउने छ।

आइतबार जनगायक भृगुराम श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भयो। उहाँका कालजयी गीतहरू नेपालभाषा बुझ्नेहरूमाझ चार पुस्तासम्म निरन्तर गुञ्जिरहेका छन्।अझै गुञ्जिरहने छन्।

त्यतिमात्र नभई जनकवि दुर्गालाल श्रेष्ठका शब्द र उहाँको मौलिक स्वर मिश्रित अधिकार र जनमुखी गीतले मुलुकमा पञ्चायती व्यवस्थाविरुद्ध चलेको लोकतान्त्रिक आन्दोलनलाई उभार ल्याउन महत्वपूर्ण योगदान पुर्‍याएको थियो। तर, त्यो भाषा नबुझ्नेमाझ उहाँको गायन प्रतिभालाई चिन्ने, चिनाउने मौका नै मिलेन वा पाएन।

यसका धेरै कारणहरूमध्ये एउटा महत्व कारण राज्यको सोच र ध्यान नजानु हो।यो त एउटा प्रतिनिधि पात्र त हो। भाषा, साहित्य र जनताको अधिकारको लागि जीवन पर्यन्त समर्पित जनगायक भृगुराम श्रेष्ठजस्ता प्रतिबद्ध साधक, प्रतिभावान अरू विभिन्न भाषामा पनि होलान्, जसको बारे राज्यले त के सञ्चारजगतले अहिलेसम्म नामै सुनेका छैनन् होला।

के तिनका प्रतिभा प्रतिभा नै होइनन् त ? तिनका प्रतिभालाई सम्मान गर्ने राज्यको दायित्वभित्र पर्दैनन् ? तिनका योगदान राष्ट्रका लागि गरेको योगदान होइन त? भाषाकै कारण प्रतिभा चिन्ने चिनाउन नसक्ने स्थिति समावेशी नेपाल तथा संविधानको प्रस्तावनाअनुरूप बहुजातीय तथा बहुभाषिक नेपाल भनी गरेको परिकल्पनालाई साकार गर्न बाधक त भएका छैनन् ? राज्यले यस्ता प्रश्नहरूको सम्बोधन गर्दै अघि बढ्ने हो भने अवश्य पनि विविधतालाई समेटिएको एकतायुक्त नेपाली राज्य बनाउन टेवा पुर्‍याउनेछ।

हुन त संस्कृति, संस्कार, भाषा, कला, लिखित/अलिखित परम्पराबाट नै सभ्यता बन्ने हो।तर, त्यो सभ्यता एक दिनमा, एक दशकमा बन्ने भन्ने होइन।त्यसका निर्माणमा जनताको ठूलो मिहिनेत, प्रतिभाले भूमिका निर्वाह गरेको हुन्छ।

त्यसलाई बनाउन सयौं, हजारौं वर्ष लाग्नेछ। त्यसले ती सभ्यता, संस्कृति र धरोहर भनेको अमूल्य निधि हुन्। यसको संरक्षण, प्रर्वद्धन र विकासमा राज्यको बलियो उपस्थिति देखिनुपर्दछ। त्यसका लागि सञ्चार क्षेत्र, नागरिक समाज सामाजिक संघसंस्थाको यथोचित भूमिका पनि अपेक्षित रहेको छ।

प्रतिक्रिया दिनुहोस्