दलहरूको गाईजात्रा



काठमाडौं ।

रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचन आउँदो माघ ११ गते हुँदैछ। निर्वाचनका लागि दलहरूले मनोनयन सम्पन्न गरिसकेका छन्। यसपटक सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ।

रिक्त १९ सिटका लागि हुने निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार निर्वाचित हुने लगभग निश्चितजस्तै देखिन्छ। सत्तारुढ तथा प्रमुख प्रतिपक्षी दलले दिएको उम्मेदवारी हेर्दा जनताबाट पटक–पटक अस्वीकृत भइसकेका व्यक्तिलाई पुनः सत्तामा ल्याउने खेलमा नै सत्तारुढ दल अग्रसर भएको देखिन्छ।

२०४८ सालदेखि नै सत्ताको वरिपरि रहेर सत्ताको स्वाद चाखेका व्यक्तिलाई नै पुनः राष्ट्रिय सभा सदस्य बनाउने खेलमा लागेर लोकतन्त्रको धज्जी उडाउने काम भएको महसुस हुन थालेको छ।

जनताबाट अस्वीकृत र जनताले नचिनेका व्यक्तिलाई पुनः उम्मेदवार बनाएर लोकतन्त्रको उपहास गर्न खोजेको हो कि भन्ने आशंका जनतामा पैदा भएको छ।

राजनीतिप्रति तीव्र असन्तुष्टि जागिरहेको बेला दलहरूले देखाएको हर्कतले पुराना भनिएका कुनै दल सुध्रनेवाला छैनन् भन्ने नियत प्रष्ट भएको भान हुन्छ।

मुलुकको व्यवस्था परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका दलहरूको पछिल्लो रवैयाले सबैलाई निरास मात्र बनाएको छैन यी दलको विकल्प खोज्नसमेत बाध्य बनाउने परिस्थिति सिर्जना गरेको छ।

दलहरूले दिएका उम्मेदवारीलाई हेर्ने हो भने यो मुलुकमा उनीहरूबाहेक अरू कोही नेता वा राष्ट्रिय सभा सदस्य नै बन्न लायक नभएको जस्तो गरी जनताबाट पटक पटक अस्वीकृत भएका व्यक्तिलाई नै पुनः उम्मेदवार बनाएर लोकलाई नै हँसाउने काम दलबाट भएको छभन्दा अत्युक्ति हुँदैन।

युवा पुस्तामा देखिएको विद्रोहको भावलाई सत्ता चलाउनेहरूले बुझ्न नसक्दा आज विदेसिनेको संख्या दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेको छ।

मुलुक छोडेर गरी खाने वर्ग बाहिरिने क्रम बढेपछि राज्य गम्भीर हुनुपर्ने थियो। राज्य गम्भीर भएको पाइँदैन। मन्त्री बनेकाहरूको कार्यशैलीप्रति स्वयम् दलका नेता तथा कार्यकर्ता सन्तुष्ट हुन सकेका छैनन् भने जनता सन्तुष्ट हुने ठाउँ नै देखिँदैन।

यति हुँदा पनि दलहरू सुध्रने अवस्था देखिँदैन। कमाऊ खाऊ भोलि समय आउँछ कि आउँदैन भन्ने अवस्थामा रहेका दलहरूले व्यवस्थालाई सुधारेर जनतालाई आफूप्रति आकर्षित गराउने योजना ल्याउनुभन्दा पनि आफ्ना आसेपासेलाई उम्मेदवार बनाउने र आफ्नो अभीष्ट पूरा गर्ने तर्फमात्रै दलहरू क्रियाशील हुन थालेका छन्।

जसका कारण जनतामा थप नैरास्यता पलाउन थालेको छ। पछिल्लो अवस्था हेर्ने हो भने सरकारप्रति आशा गर्ने ठाउँ कतै देखिँदैन। जता हेरे पनि निराशाले बास गरेको देखिन्छ।

सरकार चलाउने दल भनिएकाहरू अझै पनि सुध्रनेतर्फ अग्रसर नहुने हो भने भोलि के हुन्छ यसै भन्न सक्ने अवस्था देखिँदैन। त्यसैले दल सुध्रने कि सकिने सोच्ने बेला आएको छ।

प्रतिक्रिया दिनुहोस्