बृहत् दोलखा महोत्सवमा पाँच करोड बढीको कारोबार



दोलखा। 

दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको बृहत् दोलखा महोत्सव– २०८० मंगलवार सकिएको छ । १२ दिनसम्म विभिन्न सांगितिक कार्यक्रम सहित सञ्चालन भएको महोत्सव अवलोकनमा झन्डै एक लाख मानिस पुगेको र पाँच करोड भन्दा बढी कारोबार भएको संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए ।

भीमेश्वर नगरपालिकासहित जिल्लाको नौ वटै पालिका र विभिन्न ४० भन्दा बढी संघ संस्थाको सहकार्यमा सञ्चालन भएको बृहत् दोलखा महोत्सव– २०८० को लागि राखिएका एक सय ४७ वटा स्टलमा स्थानीय कृषिजन्य उत्पादन, हस्तकला, किवी, सुन्तला लगायतका फलफूल, खाना तथा कपडाका सामग्रीहरु रहेको र ती स्टलहरुमा दैनिक ४० लाखसम्मको कारोबार भएको दोलखा उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सव आयोजनाको सन्र्दभमा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दहाललाई जिल्लाको उत्तर– दक्षिण र पुर्व– पश्चिम राजमार्गलाई पर्यटन तथा कृषि उद्योगमैत्री बनाउने, दोलखा फिल्मशिटी निर्माणको लागि प्राथमिकताका साथ काम गर्ने, चरिकोट रङ्गशाला निर्माणमा सहयोग गर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको र त्यसलाई दोलखा उद्योग बाणिज्यसंघले निरन्तर चासो दिईरहने अध्यक्ष श्रेष्ठले बताए।

महोत्सवले जिल्लाको आर्थिक गतिविधिमा महत्त्वपूर्ण सहयोग पु¥याउने र पर्यटन प्रवर्द्धन तथा कृषि उत्पादनमा समेत टेवा पु¥याउने भएकोले दोलखा उद्योग वाणिज्य संघले आगामी २०८१ साल कार्तिक ३० गतेदेखि मंसिर १५ गतेसम्म दोस्रो बृहत् दोलखा महोत्सवको आयोजना गर्ने तयारी थालेको संघका सचिव प्रवीण श्रेष्ठले बताए ।

महोत्सवको अवसरमा आस्था राउत, रमेश प्रसाईँ, कल्पना दहाल, ज्योती मगर, राजनराज सिवाकोटी, अमृत खाती, हरिबहादुर राउत, कोपिला वाइबा, एलिना चौहान, शान्ति श्री परियार, प्रिती आले लगायतका राष्ट्रिय कलाकार र स्थानीय कलाकारको प्रस्तुति, ब्याण्डमिन्टल खेल प्रतियोगिता, गजल साँझ, स्टीट फुड फेस्टीबल लगायतका कार्यक्रम समेत सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

मंगलवार संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्य, एमाले नेता एवं पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, बैतेश्वर गाउँपालिकाका प्रमुख छवि लामा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्